उद्यमी युवा महिलाका लागि सञ्चालित सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

  • माघ २४, २०७५

उद्यमी युवा महिलाहरुका लागि पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा सञ्चालित ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउन सञ्चालित तालिम बुधबार सम्पन्न भएको हो । इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत तालिममा प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई सुरुदेखि नै व्यवस्थित, पारदर्शी र सबैको विश्वासनीय बनाउनका लागि लेखा प्रणालीलाई व्यवस्थित गराउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सानो सानो पुँजी सङ्कलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक अवस्थमा सुधार ल्याउनका लागि वित्तीय अनुशासन अति महत्वपूर्ण हुने भन्दै उहाँले लेखा सम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह समेत गर्नुभयो । तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक गंगा नेपालीले जानकारी दिनुभयो ।

समुहमा बचत सङ्कलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका किशोरीहरुलाई संगठीत गराई उनीहरुलाई थप आयआर्जनमा केन्द्रीत गराउन सहकारी संस्था गठन गर्न लागिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुक शर्माले बताउनुभयो । आम्दानी बढाएर तथा खर्च कटाएर बचत गर्दै आएका किशोरीहरुलाई आफै लेखा राख्न सिकाउने तथा सहकारी संस्था दर्ता पछि लेखा व्यवस्थापनका लागि तालिम सहयोगी भएको तालिमका सहभागी कालिका युवा महिला सञ्जालका सदस्य सम्झना नेपालीले बताउनुभयो ।

विपन्न वर्गका महिलाहरुलाई आयआर्जनसँगै सामाजिक रुपमा सचेत बनाउनका लागि प्लान इन्टरनेशनलले इन्प्रेड नेपालसँग सहकार्य गरेर अगाडि बढेको प्लान इन्टरनेशनलका अर्जुन विश्वकर्माले जानकारी दिनुभयो । ३ दिने सहकारी लेखा व्यवस्थापन तालिममा मोदी गाउँपालिका वडा नं. ६, ७ र ८ का २० उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू