हुण्डी कारोबारमा मुछिएका सहकारी सञ्चालकद्वारा सेयर सदस्यलाई धम्की

  • माघ २५, २०७५

हुण्डी कारोबारमा मुछिएको बिराटनगरको एक सहकारीका सञ्चालकले बचत रकम फिर्ता माग्दा सेयर सदस्यलाई धम्की दिने गरेको पाइएको छ ।

पुस अन्तिम साता हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेका ‘आस्था नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजेशकुमार हेडासहितको समुहले बचतको रकम फिर्ता माग्ने सेयर सदस्यलाई धम्की दिने गरेको पाइएको हो । गत पुस २७ गते सहकारी कार्यालयबाटै हुण्डीमार्फत आएको ६९ लाख ७५ हजार ६ सय रुपैँयासहित प्रहरीले सहकारीका अध्यक्ष हेडा, म्यानेजर दीपक कर्ण र कर्मचारी सुमित साहलाई पक्राउ गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीसमक्ष बुझाएको थियो । तर, उनीहरु धरौटी बुझाएर छुटिसकेका छन् ।

अनुसन्धान कार्यालयबाट ७० लाख धरौटीमा छुटेका सञ्चालक हेडाले बचत फिर्ता लिन आएका कटहरी २ आदर्श टोलका सुवास यादव र उहाँका बुबा राजु यादवको बचत फिर्ता नगरी धम्की दिएको पीडितको गुनासो छ । “जे सक्छस् त्यही गर, अहिले पैसा दिन्न भन्छन्”, सुवास भन्नुहुन्छ, “बचत फिर्ता माग्न जादा कुटुँलाझै गरेर धम्क्याउँछन् ।” एक महिनायता बचत बापतको रकम फिर्ता गर्न धाइरहे पनि नदिएको उहाँको गुनासो छ ।

अटो रिक्सा चलाउने सुवास र चिया बेच्ने उहाँका बुबा राजुले हेडाको सहकारीमा दैनिक बचत गर्दै आउनु भएको थियो । तर, सहकारीका सञ्चालक नै हुुण्डी कारोबारमा मुछिएपछि बचत बापतको १ लाख रुपैँया फिर्ता माग्न उहाँहरु सहकारी सञ्चालकसमक्ष पुग्नु भएको हो । तर, आफैंले जम्मा गरेको रमक माग्दा धम्की दिने गरेको सुवासले बताउनुभयो । “ब्याज दिनुपर्दैन बचत मात्र फिर्ता दिनुहोस भन्दा पनि मान्दैनन्”, यादवले भन्नुभयो, “१० प्रतिशत काट्छु भन्छन् ।”

सहकारीमा सुवासको ६५ हजार ५ सय र राजुको ३५ हजार १०० रुपैँया बचत छ । एक वर्षे फिक्स डिपोजिट बचत भएका कारण फिर्ता गर्न नमिल्ने आस्था नेपाल बहुउद्देश्य सहकारीका अध्यक्ष राजेशकुमार हेडा बताउँछन् । फिक्स डिपोजिटको रकम अगाडि नै लगे १० प्रतिशत शुल्क काट्ने र ब्याज पनि नदिने उनले बताए । ‘समय अवधि नपुगी निकाल्दा बचतको १० प्रतिशत काटिन्छ’ उनले भने ‘फिक्स डिपोजिट भएकाले समय नपुगी दिन मिल्दैन ।’ हेडाले कसैले नधम्क्याएको बताए । समय नपुगी बचत माग गरे ब्याज पनि नदिने उनले दोर्होयाए ।

सहकारीले यसो भन्न पाउँछ ?
सहकारी सञ्चालक हेडाले समयअगावै रकम दिँदा ब्याज नदिने वा १० प्रतिशत रकम काट्ने बताए पनि सहकारीले यस्तो गर्न नपाउने तर्क विज्ञहरुको छ । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल बचतकर्ताको १० प्रतिशत शुल्क काट्न नमिल्ने बताउँनुभयो ।

“सहकारीहरुको आफ्नै कर्जा नीति हुन्छ”, पोखरेल भन्नुहुन्छ, “फिक्स डिपोजिट अगाडि नै फिर्ता लिनुपरे बचतको १० प्रतिशत काट्नु गलत हो ।”
अनलाइनखबर

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू