सहकारीको नेतृत्व तहमा महिला सङ्ख्या कम

  • माघ २८, २०७५

देशभरका सहकारी संस्थाहरुमा महिलाको सदस्य सङ्ख्या बढी भए पनि सोही अनुपातमा महिलाहरु सहकारीको नेतृत्व तहमा पुग्न सकेका छैनन् । महिला सहकारीकर्मीहरुका अनुसार महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने पुरुषहरुको मानसिकता यसको मुख्य कारण हो । तर सहकारीका पुरुष नेतृत्वकर्ता भन्छन्– सहकारीको नेतृत्वमा पुग्न महिलाहरुले पनि इच्छा व्यक्त गर्नुपर्छ ।

सहकारी विभागको २०७४ असार मसान्तसम्मको तथ्याङ्क अनुसार देशभर ३४ हजार ५ सय १२ सहकारी संस्था छन् । ती सहकारी संस्थाहरुमा महिला सदस्य संख्या ३२ लाख १३ हजार ५ सय १४ छ । पुरुष सदस्य संख्या ३० लाख ९२ हजार ६७ छ ।

तर सहकारीहरुको निर्णायक नेतृत्व तहमा महिलाहरु कमै पुग्ने गरेको महिला सहकारीकर्मी बताउँछन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी केन्द्रीय सदस्य चन्द्रा खड्का भट्टराईका अनुसार महिलाहरुले नेतृत्व गर्न सक्दैनन् भन्ने पुरुषहरुको मानसिकताका कारण महिलाहरु पछि परेका हुन् । उहाँले भन्नुभयो, “धेरै सहकारीहरुमा पुरुषहरु नै अगाडि बढेपछि महिला पछि परिहाल्छन् । तर महिलालाई अवसर दिए नेतृत्व गर्न सक्छन् ।”

सदस्य सङ्ख्यामा महिलाहरुको बाहुल्य भए पनि सहकारीका सञ्चालकहरुमा महिलाको सङ्ख्या पुरुषको दाँजोमा कम छ । सहकारीका सञ्चालकमा पुरुषको संख्या १ लाख ५० हजार ३ सय १५ छ भने महिलाको संख्या ९७ हजार ५ सय १२ मात्र छ । सञ्चालक सदस्य तथा सहकारीको निर्णायक नेतृत्व पदमा महिलाहरुको संख्या कम हुनुमा मुख्य दुई कारण रहेको सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले बताउनुभयो । ढकालले भन्नुभयो, “महिलाहरुले सञ्चालन गरेको बाहेक अन्य सहकारीहरुमा महिलाहरुको नेतृत्व एकदम कम छ। पुरुषहरु हाबी भएपछि महिलालाई स्थान नभएको हो ।”

सहकारी विभागका अनुसार सहकारी दर्ता दिग्दर्शनको प्रावधानले महिलालाई नेतृत्वमा पुग्न सहयोग र्पुयाउने छ । तर अहिलेको अवस्था र सहकारीको नेतृत्वमा पुग्नका लागि धेरै महिलाहरुले देखाएको उदासीनताका कारण सहकारीमा महिला नेतृत्व पर्याप्त हुनसक्छ भन्ने आधार पाइन्न ।

अधिकांश सहकारी संस्थाहरुले लघुवित्त कार्यक्रम सञ्चालन गर्छन् । महिला लक्षित त्यस्ता कार्यक्रम चलाउने सहकारीहरुमा पनि महिला नेतृत्व ज्यादै न्यून रहेका कारण सहकारी मार्फत महिला सशक्तिकरणको अभियानमा बाधा पुगेको सहकारी विभागका अधिकारीहरु बताउँछन् ।
देश सञ्चार

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू