सहकारी र लघुवित्तको ब्याज घटाउन अर्थमन्त्रीको सुझाव

  • फाल्गुन २८, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी र लघुवित्तको ब्याज बढी भएको भन्दै घटाउन सुझाव दिनु भएको छ ।

साना किसान वित्तीय संस्थाको १८ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताउनु भएको हो । उहाँले ब्याजले नाफा बढाउनुभन्दा उत्पादन र व्यवसायमा जोडिएर नाफा गर्नुपर्ने बताउनुभयो । सहकारी र लघुवित्तलाई बढी ब्याजको आरोप लागिरहेको बताउदै अर्थमन्त्री खतिवडाले आरोप खण्डन गर्न केही मुनाफाबाहेक पुँजी निर्माण गर्न लाग्न सुझव दिनुभयो ।

गुणस्तरीय सेवाका लागि सहकारी तथा लघुवित्त मर्जको विकल्प नभएको मन्त्री खतिवडाको धारणा थियो । सदस्यलाई राम्रो र गुणस्तर सेवा दिन मर्जमा जानुपर्ने बताउनुभयो । साना किसान लघुवित्त संस्थाको स्तरवृद्धि गर्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै मन्त्री खतिवडाले सहकारीसँग सँगसँगै हिँड्न सरकार तयार रहेको बताउनुभयो ।

साना किसान ६९ जिल्लामा पुगेको चर्चा गर्दै मन्त्री खतिवडाले हरेक स्थानीय तहमा पुर्याउन सक्नुपर्ने व्यक्त गर्नुभयो । समतामूलक समाज निर्माण गर्न र विकासको बाटोमा अघि बढ्न सहकारी उच्चतम प्रणाली भएको समेत उहाँको धारणा थियो । “नीति, कार्यक्रम र बजेट सहकारीमैत्री बनाएर उत्पादनमा सहकारीलाई जोड्न चाहन्छौं”, उहाँले भन्नुभयो, “पुँजी जुटाउन तथा प्रविधि भित्र्याउन कानुन सहज गर्छौँ ।”

सहकारीले बचत मात्र नगरी उद्योग÷व्यवसायमा लाग्नुपर्ने अर्थमन्त्री खतिवडाले सुझाव दिनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कृषि क्षेत्रको विकासबिना अरु विकास सम्भव नभएको बताउनुभयो । सहकारीमार्फत उत्पादनमा जान सहकारी ऐन २०७४ मा समस्या भएको भन्दै बडालले ऐन संशोधनको तयारी भएको बताउनुभयो ।

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू