परासी आदर्श बहुमुखी सहकारीमा २० वर्षसम्म एउटै व्यक्ति अध्यक्ष

  • फाल्गुन २९, २०७५

परासीको एक सहकारीमा २० वर्षसम्म एउटै व्यक्ति अध्यक्ष हुँदै आएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित परासी आदर्श बहुमुखी सहकारी संस्था’ को अध्यक्षमा पुरन चौधरी २० वर्षसम्म सञ्चालक समितिको अध्यक्षमा चयन हुँदै आउनु भएको हो । पश्चिम जिल्लामा यो पुरानो सहकारीमध्येको एक हो । २०२८ साल चैत २८ गते यो सहकारी स्थापना गरिएको हो ।

सञ्चालक समितिको कार्य अवधि पाँच वर्ष रहने प्रावधान छ । चौधरी २०६० देखि अध्यक्ष हुँदै आउनु भएको हो । पछिल्लो पटक सोमबार सम्पन्न १८ औं वार्षिक साधारणसभाले चौधरीलाई चौथो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । 

अध्यक्ष हुनुअघि चौधरी लेखा संयोजकसमेत हुनुहुन्थ्यो । अहिलेको कार्यकालसँगै चौधरीले सहकारीमा २५ वर्ष बिताउँदै हुनुहुन्छ । उक्त सहकारीमा सर्वसम्मत हुन नसेकेपछि एकपटक मात्र निर्वाचन भएको थियो । २०६० सालमा भएको निर्वाचनमासमेत चौधरीले अध्यक्ष पदमा जित्नु भएको थियो ।

त्यसपछि भएका साधारणसभाले चौधरीलाई नै सर्वसम्मत रुपमा चयन गर्दै आएको छ ।स हकारीको कार्य क्षेत्रमा सदरमुकाम परासीसहित दक्षिणक्षेत्रका गाउँ छन् । सहकारीबाट विपन्न समुदायको जीविकोपार्जनमा सहयोग र्पुयाउन सकिने सोचका साथ आफू सहकारीमा आवद्ध भएको चौधरीको भनाई छ ।

यस क्षेत्रमा किसान बढी छन् । सहकारी मार्फत किसानलाई व्यवसायीक कृषि पेशामा लाग्न अभिप्रेरित गर्न पनि आफू सहकारीमा आवद्ध भएको चौधरीले बताउनुभयो । सहकारीले किसानलाई सहुलियत दरमा मल, खाद तथा गुणस्तरीय बीउ बिजन उपलब्ध गराउँदै आएको छ ।

किसानलाई ऋणसमेत प्रदान गरी बचतका कार्यक्रम सहकारीले सञ्चालन गर्दै आएको छ । प्रयाप्त मल अहिले पनि उपलव्ध गराउन नसक्दा किसानले समस्या भोग्नु परेको चौधरीको अनुभव छ ।

“हरेक पटक साथीहरुले मलाई नै जिम्मेवारी दिने गरेका छन् ।” अनुभवी छ भनेर अगाडी सार्ने गरेका कारण साथीहरुको प्रस्तावलाई नकार्न नसकेकाले लामो समयसम्म अध्यक्ष नै बन्नु परेको उहाँले बताउनुभयो ।

४९ वर्षअघि सात हजारको शेयर पुँजीबाट सहकारी सञ्चालनमा ल्याइएको हो । त्यसबेला प्रति शेयर रकम १० रुपैँया थियो । २०४८ सालमा सहकारी ऐन संशोधन भएपछि शेयर पुँजी एक सय र्पुयाइएको थियो । १० रुपैँयाबाट एक सय र्पुयाए पछि धेरै सदस्यले सदस्यता नविकरण नगराएको अध्यक्ष चौधरीले बताउनुभयो । सहकारीले अहिले चार सय रुपैँया शेयर रकम कायम गरेको छ ।

सात हजार शेयर पुँजीबाट सञ्चालनमा ल्याइएको सहकारीमा हाल दुई लाख ४० हजार शेयर पुँजी छ । ६ सय ४ जना शेयर सदस्य आवद्ध छन् । सहकारीको हाल चार बिगाहा ५ कट्ठा जमिन छ । उक्त जमिनमा दुईवटा भवन निर्माण गरिएको छ ।

कार्यालय प्रयोजनका लागि दुई तले भवन छ भने चौकीदारका लागि एक तले भवन निर्माण गरिएको छ । अन्य जग्गामा वृक्षारोपण गरिँदै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आ.व. २०७४/७५ मा सहकारीले पाँच करोड बराबरको कारोबार गरेको जनाएको छ ।
अन्नपूर्ण

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू