साझा प्रकाशनमा देखिएको बेथिती रोक्न सहकारी मन्त्री अर्याल एक्सनमा

  • फाल्गुन ३०, २०७५

साझा प्रकाशनमा देखिएको बेथिती रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक्शन लिनुभएको छ ।

यसअन्तर्गत मन्त्री अर्यालले साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई मन्त्रालयमा तानेर मन्त्रालयका उपसचिव ऋषिराम पङ्गेनीलाई साझाको महाप्रबन्धक तोक्नुभएको छ । साझा प्रकाशनमा धरासायी भएर भ्रष्टाचार भइरहेको लगायतका थुप्रै बेथितीका कुराहरू बारम्बार बाहिरिएका थिए ।

यस सम्बन्धमा मन्त्री अर्यालले आन्तरिक टिम बनाएर अध्ययन गर्नुभएको थियो । अध्यननका क्रममा तत्कालिन प्रबन्धकका थुप्रै समस्या देखिएपछि मन्त्री अर्यालले शर्मालाई मन्त्रालय तानेर छानबिन शुरु गर्नुभएको हो । आफ्नै छापाखाना, देशभर जग्गाजमिन भएको सम्पन्न संस्थाको रुपमा परिचित साझा प्रकाशन धरासायही भएको, साझाका कर्मचारीहरू एक वर्षदेखि आन्दोलनरत रहेको, कर्मचारीले तलब समेत खान नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीबीचमा सम्बन्ध बिग्रिएको लगायतका थुप्रै समस्या थियो ।

कर्मचारीहरूले तलब समेत खान नपाएपछि मन्त्री अर्यालको विशेष पहलमा अर्थ मन्त्रालयबाट ८ करोड ऋण ल्याएर साझा प्रकाशनका कर्मचारीहरुलाई तलब खुवाउनु परेको थियो । गएको फागुन १९ गते शर्मालाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव ऋषिराम पङ्गेनीलाई साझाको महाप्रबन्धक तोक्नु भएको छ । यसैबीच शर्मालाई ३ दिने स्पष्टिकरण सोधिएको छ । साझा प्रकाशन सहकारी संस्थाले बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समिति समक्ष स्पष्टिकरण पेश गर्न भनिएको छ ।

संस्थाका अध्यक्ष रघुराम विष्टद्वारा जारी गरिएको पत्रमा तत्कालिन प्रबन्धक शर्मालाई साझा प्रकाशन नियमावली, २०७३ (संशोधन सहित) को नियम ३०।१ को खण्ड (ख) बमोजिम आचरण तथा अनुशरण सम्बन्धी नियम उल्लङ्घन गरेको र सोही नियमावलीको खण्ड च बमोजिम आफ्नो पदको जिम्मेवारी वेवास्ता गरेको देखिएको भन्दै पत्र प्राप्त भएको मितीले ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टिकरण पेश गर्न भनिएको छ । सञ्चालक समितिको फागुन २८ गतेको निर्णयअनुसार स्पष्टिकरण सोधिएको हो ।

राष्ट्रिय इतिहास बोकेको सरकारी संस्था साझा प्रकाशनलाई उचित रूपमा सञ्चालन नगरेको, प्रकाशन धरासायी बनाएको लगायतका थुप्रै बिषयहरू तत्कालिन महाप्रबन्धक शर्मामाथि लागेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू