छुवाछुत अन्त्यका लागि मेचीदेखि महाकाली पदयात्रा सुरु

  • चैत्र १, २०७५

मुलुकमा जातीय छुवाछुत व्यवहारिकरुपमै अन्त्यका लागि आजदेखि मेचीदेखि महाकाली पदयात्रा सुरु गरिएको छ ।

अभियन्ताद्धय होमराज आचार्य र अशोक दर्नालले गर्ने पदयात्रालाई विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको सहकारी उपलब्धि बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आयोजनामा भएको हो । बिहिबार पदयात्रीहरुलाई आयोजित शुभकामना कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले छुवाछुत अन्त्यकालागि आचार्य र दर्नालको पदयात्रा अभियान महत्वपूर्ण हुने बताउनुभयो ।

त्यसैगरी, राष्ट्रिय सहकारी महासंघका लेखासुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले छुवाछुतको कानुनीरुपमा अन्त्य भए पनि व्यवहारिक अन्त्य नभइसकेकोले ‘नेपाल पदयात्रा २०१९’ ले मेचीदेखि महाकालीसम्म जागरण फैलाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले छुवाछुत अन्त्यकालागि सबैको मन मष्तिस्कबाट छुवाछुतको भावनालाई हटाउनुपर्ने र त्यसकोलागि पदयात्राका क्रममा विभिन्न समुदायमा पुगेर फैलाउने जागरण महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेतले अभियन्ताद्वयलाई शुभकामना दिनुहुदै दुईजनाबाट सुरु भएको अभियान सबै स्थानका सबै नागरिकमा पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले छुवाछुत जस्तो अमानविय कार्यको अन्त्यकालागि पदयात्राका अभियन्ताद्वयको साथमा सिङ्गो सहकारी क्षेत्र साथ रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीले सबै वर्ग जाती, समुदायमा भइरहेका हरेक छुवाछुत हटाउन गरिएको पदयात्राले यो अभियान लाखौं अभियन्ता जन्माउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अभियन्ताद्धयलाई उहाँहरुले लगाएको टि–सर्टमा हस्ताक्षर गरेर अतिथिहरुले ऐक्यवद्धता र शुभकामना दिनुभएको थियो । नेपालको सहकारी अभियानको उच्च निकाय राष्ट्रिय सहकारी महासंघको तर्फबाट धर्मदत्त देवकोटा र नेपालको सहकारीको नीतिगत निकाय राष्ट्रिय सहकारी विकास बोर्डका तर्फबाट चक्रबहादुर पराजुलीले अभियन्ताद्वयलाई फुलको माला लगाइदिएर पदयात्रा शुभारम्भको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उपलब्धि बहुउद्देश्य सहकारी संस्था लिमटेडका योजना तथा विकास उपसमितिका संयोजक विपिन शर्माले उपलब्धि सहकारीका सदस्य होमराज आचार्य र अर्का अभियन्ता अशोक दर्नालले जातिय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यको लागि गर्ने नेपाल पदयात्राले छुवाछुत अन्त्यका लागि नयाँ मोड ल्याउने बताउनुभयो । कार्यक्रम उपलब्धि बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष कविता कोइराला खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी अभियन्ताद्वय होमराज आचार्य र अशोक दर्नालले जानकारी दिइएको हो । जातीय छुवाछुत अन्त्यका लागि पदयात्रा गर्न लागिएको अभियन्ता दर्नालले बताउनुभयो । “नेपाल सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणामार्फत जातीय भेदभाव र छुवाछुत अन्त्यको घोषणा गरेको छ, नेपालको संधिान २०७२ ले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराधको मानिसकेको छ”, दर्नालले भन्नुभयो ।

तर आजसम्म पनि सरकार र राजनैतिक दलहरुको कमजोर इच्छाशक्तिका कारण समाजमा जातीय भेदभाव र छुवाछुतका घटनाहरु भइरहेका उहाँको दाबी छ । देशका हरेक कुनाकुनामा जागरण फैल्याउन पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । देशका विभिन्न स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग सरकारी निकायसँग छलफल कार्यक्रम समेत गरिने अर्का अभियन्ता होमराज आचार्यले बताउनुभयो ।

देशभरका वर्ग, समुदाय, जातजातिले हरेक प्रकारको छुवाछुतको अन्त्य गर्न आफूबाट सुरु गर्नुपर्छ भन्ने जागरण फैलाउने गरी अभियान रुपमा पदयात्रा गर्न लागेको अभियन्ता आचार्यले बताउनुभयो । अभियान्ताहरु ६५ जिल्लाको पदयात्रामा निस्कन लागेका छन् । आफ्नो घर छिमेकबाट परिवर्तन नगरेसम्म कानुनका ठेलीले मात्र छुवाछुत जस्तो अमानवीय कार्यको अन्त्य नहुने देखेर मेची–काली पदयात्रा सुरु गरिएकोे अभियान्ताहरुको भनाई छ ।

पदयात्राका क्रममा हरेक समुदाय र वस्तीहरुमा हजारौं नागरिकसँग भेट्ने छौं, सबैलाई सामेल गरेर अघि बढ्ने हाम्रो अभियान भएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू