ओरेन्टल सहकारीको सम्पत्ति बैँकबाट फिर्ता गर्न पहल

  • चैत्र ३, २०७५

बैंकहरुले गैरबैंकिङ सम्पत्तिका रुपमा राखेका र लिलाम प्रक्रिया अघि बढाएका सम्पत्तिलाई पुनः ओरेन्टल सहकारीमा फिर्ता गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहल सुरु गरेको छ । बैंकहरूले न्यून मुल्याङ्कन गरी धितो लिलामी तथा बैंकिङ सम्पत्तिका रुपमा राखेको भेटेपछि समितिले ऋण चुक्ता गरी सम्पत्ति फिर्ता गर्ने योजना अघि सारेको हो ।

बैंकहरूले लिलामी अघि बढाएका र आफैले राखेका सम्पत्ति अहिलेको मूल्यमा बिक्री गर्दा ओरेन्टलका निक्षेपकर्तालाई राहत हुने भएकाले पहल अघि बढाइएको समितिका अध्यक्ष युवराज सुवेदीले जानकारी दिनुभयो । “बैंकहरूले कानुनअनुसार नै सम्पत्ति लिलाम र सकार गरेका होलान्, तर धेरै सर्वसाधारण ठगिएकाले बैंकहरूले पनि सहयोग गर्नुपर्छ”, समितिका अध्यक्ष युवराज सुवेदीले भन्नुभयो ।

समितिले सम्पत्ति लिलाम गरी बैंकहरूको ऋण चुक्ता गर्ने र बाँकी रकम निक्षेपकर्तालाई फिर्ता गर्ने योजना बनाएको छ । यसका लागि छलफल गर्न सम्बन्धित बैंकलाई र सहयोग तथा समन्वय गर्न राष्ट्र बैंक र सरकारलाई पत्राचार गरिएको समितिले जनाएको छ । यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुर्याइने अध्यक्ष सुवेदीले बताउनुभयो ।

समितिले हाल ओरेन्टलका अध्यक्ष सुधीर बस्नेतका परिवारका साथै बस्नेत सञ्चालक भएका विभिन्न हाउजिङ कम्पनीको नाममा रहेका सम्पत्ति फिर्ता गर्नका लागि लिलामी तथा हक हस्तान्तरण प्रक्रिया समेत रोकेको छ । समितिले लिलामी तथा हक हस्तान्तरण रोकेका सम्पत्तिमध्ये सबैभन्दा बढी मूल्याङ्कन भएको जग्गा एनआईसी एसिया बैंकसँग छ । ओरेन्टल विल्डर्स एण्ड डेभलपर्सको नाममा तत्कालिन धापासी गाउँ विकास समितिमा—२ र ५ मा रहेको २४ रोपनी, ४ आना एक पैसा जग्गा एनआईसी एसियाले सकार गरेर हक हस्तान्तरण गरेको छ ।

उक्त जग्गाको हालको मूल्याङ्कन एक अर्बको हाराहारीमा पर्ने भएपनि बैंकले २० करोड असुलीका लागि लिलामी गरेकाले बैंकको ऋण चुक्ता गरी त्यसलाई फिर्ता गर्ने र फेरी लिलाम गर्नुपर्ने समितिको ठहर छ । यसैगरी, बस्नेत अध्यक्ष रहेको ओरेन्टल विल्डर्स एण्ड डेभलपर्स प्रालिको नाममा रहेको काठमाडौं महानगरपालिका १० शान्तिनगरस्थित कित्ता नं १९५ को १ रोपनी तीन आना तीन पैसा दुई दाम जग्गा र ओरेन्टल विल्डर्सकै सञ्चालकको नाममा रहेको कित्ता नं १९७ को ४ रोपनी १ पैसा जग्गा सिटिजन्स बैंक इन्टरनेसनलले लिलाम गरेको छ । उक्त जग्गाहरू प्रिन्सटन एजुकेशन फाउन्डेसनले ७ करोड ६० लाख रूपैँयामा सकार गरेपनि समितिले रोक्का गरेपछि हक हस्तान्तरण भने हुन सकेको छैन ।

यस्तै अध्यक्ष बस्नेतकी श्रीमती नीतु बस्नेत र आमा सुनिता बस्नेतका नाममा काठमाडौं महानगरपालिका—१० नयाँ बानेश्वरस्थित कित्ता नं १०२, ३५८, ४८३, ४८४ को २ रोपनी ४ आना ३ पैसा जग्गा र त्यसमा बनेको घर बैंक अफ काठमाडौंकोे नाममा गैरबैंकिङ सम्पत्तिका रुपमा समितिले जनाएको छ । समितिका एक सदस्यका अनुसार बैंकहरूले न्यून मूल्याङ्कन गरी सम्पत्ति कब्जा गरेकाले फिर्ता गर्ने खोजिएको बताउनुभयो । “बस्नेत जेल परेपछि तत्कालिन अवस्थामा उसको पक्षमा बोल्ने र सम्पत्तिको रक्षा गर्ने कोही भएनन्”, ती सदस्यले भने, “बैंकहरूले जथाभावी मूल्याङ्कन गरेर लिलामी प्रक्रिया अघि बढाएको भेटियो ।”

समितिले भेटाएका सम्पत्ति फिर्ता गरी अहिलेको मूल्यमा लिलाम गर्नसके ओरेन्टलका बचतकर्तालाई केही प्रतिशत रकम फिर्ता गर्न सक्ने सम्भावना देखिएकाले पहल गरिएको उहाँले बताउनुभयो । यसअघिका समितिका तत्कालिन अध्यक्ष गौरीबहादुर कार्कीले समेत बैंकहरूले लिलामी अघि बढाएको ओरेन्टलको सम्पत्ति फिर्ता गरी पुनः लिलाम गर्नुपर्नेे प्रतिवेदन सरकारलाई बुझाउनु भएको थियो । र कार्कीलाई सरकारले अध्यक्षबाट हटाएपछि यो प्रक्रिया अघि बढ्न सकेको छैन । ओरेन्टलको सम्पत्ति बैंकले न्यून मूल्याङ्कन गरी लिलामी गरेको भन्दै बचतकर्ताहरूले त्यसलाई फिर्ता गर्न बैंकहरूमा धर्ना समेत दिदै आएका छन् ।

ओरेन्टल सहकारीमा साढे ७ हजार निक्षेपकर्ताको ८ अर्व ३८ करोड दायित्व देखिएको छ । यसैगरी संस्थामा रहेको सेयर, बैंकको कर्जा, अपार्टमेन्ट बुकिङ, सरकारको कर समेत जोड्दा ओरेन्टलले १६ अर्व तिर्न बाँकी छ । तर, दायित्वको तुलनामा सम्पत्ति न्यून भएपछि सहकारीका बचतकर्ता र हाउजिङ बुकिङकर्ताले फसेको रकम फिर्ता सम्भावना न्यून देखिएको छ ।

समितिले हालसम्म संस्थाको ऋण असुलबाट ७५ करोड आफ्नो खातामा जम्मा गरेको छ । रकम थोरै भएकाले समितिले बचत फिर्ता प्रक्रिया सुरु गर्न सकेको छैन ।
कारोबार

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू