दिगो लक्ष्य प्राप्तिका लागि सहकारी अपरिहार्य

  • चैत्र २०, २०७५

ओमदेवी मल्ल
ग्लोबल बोर्ड मेम्बर, अन्तर्राष्ट्रिय सहकारी महासंघ

नेपालले सन् २०३० भित्र साक्षरताको अवस्थामा आमूल परिवर्तन गरी ९९ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । सो अवधिभित्र नेपालमा कोही भोका रहनु नपर्ने परिकल्पना गरिएको छ । गरिवीको रेखामुनी रहेको जनसंख्या ४ दशमलव ९ मा झार्ने राष्ट्रिय लक्ष्य रहेको छ । २०३० भित्र नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर हुने परिकल्पना गरिएको छ । यो समृद्धिको लक्ष्यले नेपालको मुहार परिवर्तन गर्नेछ । यति मात्र होइन नेपालले २०३० एजेन्डाका रुपमा रहेको दीगो विकासका १७ वटै लक्ष्यमा आफ्नो कार्ययोजना तय गरेको छ ।

नेपालले मात्र होइन, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले दीगो विकास लक्ष्य २०३० भित्र हासिल गर्ने प्रतिवद्धता जनाएका छन् । यी लक्ष्य सहकार्य र सबैको प्रयासबाट मात्र सम्भव हुने भएकाले विश्वभरि नै सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यको आवश्यकता महसुस गरिएको छ । स्थानीय जनताको अझ ठूलो भूमिका हुने भएकाले नै स्थानीय समुदायसँग प्रत्यक्ष रुपमा जोडिएको सहकारीलाई यसको मियोका रुपमा समेत लिइएको छ । किनकि दाताबाट रकम प्राप्त गरेपछि मात्र यी लक्ष्य हासिल गर्न सक्छौं भन्ने मानसिकतालाई हामीले पूर्णरुपमा हटाउनुपर्छ । मेरो घर म आफैं बनाउँछु भन्ने अठोट लिएको खण्डमा मात्र हामी लक्ष्य हासिल गर्न सक्छौं ।

सबै खालको गरिवी र भोकमरीको अन्त्य गर्दै समानताको प्रत्याभूति मानिसले गर्न सक्ने यसको उद्देश्य छ । त्यसैगरी, धर्तीको प्राकृतिक स्रोत र जलवायुलाई भावी पुस्ताका लागिसमेत सुरक्षित राखेर उपयोग गर्ने यसको अर्काे उद्देश्य हो । प्रकृतिसँग सामञ्जस्यता हुने गरी जीवनको समृद्धि सुनिश्चिता गर्ने र शान्ति र समावेशी समाजलाई प्रोत्साहन गर्ने उद्देश्यबाट १७ लक्ष्य प्रेरित छन् । यी लक्ष्य कार्यान्वयनका लागि ठोस विश्वव्यापी साझोदारीको आवश्यकता छ । देशभित्र पनि सार्वजनिक, निजी र सहकारीको सामूहिक प्रयास अपरिहार्य छ ।

हामीले मात्र होइन, अमेरिका, जापान, चीन र भारतजस्ता देशका लागि पनि यी लक्ष्य हासिल गर्नु चुनौतीको विषय हो । त्यसैले, सबैले यी लक्ष्य हासिल गर्नका लागि आफूलाई फोकस गर्नेछन् । कतिपय लक्ष्य हासिल गर्नका लागि एउटा देशले मात्र चाहेर सम्भव नहुने अवस्था पनि छ । जस्तै १३औं लक्ष्यलाई लिन सकिन्छ । जलवायु परिवर्तनको विषयमा एउटा देशले चाहेर वा गरेर मात्र हामी उद्देश्य प्राप्ति गर्न सक्दैनौं यसका लागि विश्वव्यापी रुपमा सहकार्यको आवश्यकता रहन्छ ।

हामीले हासिल गर्नुपर्ने विषय जटिले छ । १५ वर्षभित्र रुपान्तरण गरिसक्नुपर्ने समयसीमा निकै कम हो तर मानव समुदाय र यस धर्तीका लागि यो सीमाभित्र हामीले जसरी पनि यी उपलब्धि हासिल गर्नुपर्ने चुनौती छ । त्यसैले, समुदायसँग जोडिएको सहकारीको यो लक्ष्य हासिलमा ठूलो योगदान हुने विश्लेषण भइरहेको छ ।

हाम्रो सपनालाई यथार्थमा परिवर्तन गर्ने माध्यमका रुपमा रहेको दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले ठूलो योगदान दिनेछ । किनकि यसमा स्थानीय समुदाय जोडिएका छन् । साँच्चै यी लक्ष्य हासिल हुँदा कुनै पनि बालिकाले स्कुल जानबाट वञ्चित हुनुपर्दैन । कुनै पनि बाबुले आफ्नो सन्तान भोकभोकै परेको हेर्नुपर्दैन । कुनै पनि आमाले काम गर्ने अवसरबाट बञ्चित हुनु पर्दैन । कोही मानिसले पनि दूषित हावापानी उपभोग गर्नुपर्दैन ।

आज हामी अभाव, भोकमरी, गरिवी, धुलो धुवाँमा बस्दा यी विषय सपनाजस्तै लाग्न सक्छन् तर हाम्रो सामूहिक ऐक्यवद्धता र प्रयासले यो सपना साकार हुन्छ । यसका लागि साझेदारी र नेतृत्वको आवश्यकता छ । समुदायलाई यी विषयमा स्पष्ट जागरुक गराउन सक्ने क्षेत्र हो सहकारी ।

समुदायमा चेतना जगाउन, जागरुकता ल्याउन, उद्यमी बनेर स्थानीय साधन स्रोतलाई भावी पुस्ताले समेत उपयोग हुन सक्ने गरी स्थानीय साधन स्रोतको समुचित उपयोग गराउन सहकारी मोडेलको विकल्प छैन । आफ्ना लागि आफ्नै साधन, स्रोतको प्रयोग गरेर एकका लागि सबै र सबैका लागि एकको अवधारणामा सञ्चालन हुने सहकारीलाई मोडेलमार्फत हामी नेपालको संविधानको परिकल्पना गरेको समाजवादलाई समेत हासिल गर्न सक्छौं ।

ससानो पुँजीलाई संकलन गरी ठूलो पुँजी निर्माण गरी सानादेखि ठूला परियोजनासमेत स्थानीय समुदायबाटै सञ्चालन गर्न सक्ने यो आर्थिक मोडेल आज विश्वका लागि अपरिहार्य छ । सबै समुदायसम्म बहुआयामिक गरिवीको अन्त्य गर्नका लागि राज्यको साधन स्रोतले भ्याउन सक्ने अवस्था छैन तर समुदायलाई उनीसँगै भएको पुँजी एकीकृत गरेर उनीहरूकै स्थानीय स्रोत र सीपलाई उपयोग गरेर उनीहरूकै जीवन स्तरमा परिवर्तन गराउन सक्ने क्षेत्र हो सहकारी । समुदायमा हुने शक्तिको पहिचान गराउँदै उसमार्फत उत्थान गर्ने क्षेत्र हो यो । त्यसैले अहिले विश्वव्यापी रुपमा दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीलाई अग्रपंक्तिमा राखिएको छ ।

सहकारीको क्षमता निर्माण गर्दै, प्रविधिसँग सहकारीलाई जोडेर सहकारीको नेटवर्कलाई समृद्धि र सुखी नेपालको अवधारण पूरा गर्नका लागि साधनका रुपमा राज्यले लिन सकेको खण्डमा नेपाल आत्मनिर्भर बन्नेछ । युरोपमा एउटा अध्ययनले के देखाएको छ भने अझै पनि पाँच कम्पनीमध्ये दुईवटाले या त दीगो विकासको विषयलाई बेवास्ता गरेका छन् या त यसमा अर्थरुर्ण रुपमा सहभागिता जनाएका छैनन् । तर, सहकारीले यसलाई आत्मसात मात्र गरेको छैन, नेतृत्वदायी भूमिका खेलेका छन् ।

नेपालमा पनि दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल थिम नै दिएर सहकारी अभियानले विगत तीन वर्षदेखि राष्ट्रिय सहकारी दिवस मनाइरहेको छ । वातावरण संरक्षण गरेर, आधारभूत सेवा र वस्तुमा पहुँच विस्तार गरेर, दिगो खाद्य प्रणाली विकास गरेर, लैंगिक समावेशिता र सहभागिता वृद्धि गरेर सहकारीले फरक रुपमा व्यवसाय सञ्चालन गरेको छ । नेपालको सहकारी अभियानमा ५१ प्रतिशत महिलाको सहभागिता छ ।

अहिले स्थानीय तहमा हेर्ने हो भने निर्वाचित महिला जनप्रतिनिधिमध्ये ५० प्रतिशतभन्दा बढी सहकारीकर्मी रहेका छन् । महिलालाई यो छोटो अवधिमा नै चौघेराबाट नेतृत्व तहमा ल्याउनका लागि यसले खेलेको भूमिकाले पनि दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारीले चमत्कारी रुपमा काम गर्न सक्छ भनेर भन्न सकिन्छ ।

सहकारी उत्पादन, मार्केटिड, ग्रामीण दुरसंचार र बिमा उपलब्ध गराएर साना साना उत्पादकहरूको जीवनशैली र जीवनशैली सुधारमा मद्दत गर्न सक्छन् । त्यसैगरी, सहकारी सामूहिक खेती, सामूहिक विद्यालय, स्वास्थ्य, बिमा, आवासको क्षेत्रमा स्थानीय रुपमा नै सहरले नमुना कार्य गर्न सक्दा दातृ निकायको सहयोगबिना नै राज्यले हासिल गर्ने भनेको लक्ष्य हासिल हुन सक्छ ।

स्थानीय अर्थतन्त्रमा साना उद्यमीहरूमा सीप, साधन र पुँजी हस्तान्तरण गर्दै सक्षम स्थानीय क्षेत्रको परिकल्पना सहकारीबाट गर्न सकिन्छ । देशको पुँजीका रुपमा रहेका युवालाई स्वदेशमा नै स्वरोजगार बनाउँदै आफ्नो माटोमा पसिना बगाउने अवस्थाको सिर्जना गर्नका लागि सहकारीले अहम भूमिका निर्वाह गर्न सक्छ ।

सहकारीले सदस्यको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने भएकाले पनि यो मोडेलले सदस्यको हित र सदस्यको भावी पिँढीको हितमा सोचेर काम गर्दछ । त्यसैले, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका अपरिहार्य बनेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू