सम्पूर्ण सहकारीकर्मीले एकरुपता कायम गर्नु आजको आवश्यकता

  • चैत्र २२, २०७५

मिलन ढकाल,
अध्यक्ष, कोअपरेटिभ म्यानेजर्स क्लब कास्की ।

यतिवेला ६२औँ राष्ट्रिय सहकारी दिवस मनाई रहँदा सहकारीको परिभाषाको बारेमा व्याख्या गरिरहनु पक्का पनि पदैर्न । देशभर रहेका ३४ हजार ५ सय १२ सहकारी संस्थामा ६० हजार ५ सय १७ कर्मचारी कार्यरत भएको तथ्यांक देखिन्छ । यही जनशक्तिद्वारा ६३ लाख बढी सदस्यलाई सहकारीको सेवा प्रदान गरिएको छ भने ७३.१७ अरव शेयर पुँजी, ३ सय २ अरव बचत र २ सय ७४ अरव ऋण परिचालन गरिएको छ । यसरी हेर्दा वित्तीय कारोबारमा सहकारीको योगदान २१ प्रतिशत भन्दा बढी रहेको छ भने कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान ४ प्रतिशत देखिन्छ ।

सहकारीको इतिहास केलाएर हेर्दा २०१३ साल बाट २०७५ सालसम्म आईपुग्दा धेरै उतार चढाबहरु आएका छन् । ६२ वर्षको अवधिमा हामीले कत्तिको क्षमतावान् जनशक्ति उत्पादन गर्न सकियो र सहकारी संस्थामा हामीसँग कतिको क्षमतावान जनशक्ति छ कि छैन भन्ने विषय अति महत्वपूर्ण विषयको रुपमा रहन्छ । कतिपय संस्थामा तालिमप्राप्त कर्मचारीको अभावले गर्दा लेखा प्रणाली चुस्त दुरुस्त राख्न नसकेको पनि देखिन्छ । कर्मचारीले जानेर भन्दा पनि नजानेर धेरै गल्ती गरिरहेको विषयवस्तु हाम्रो सहकारीमा देख्न र सुन्न पाईन्छ । यसको निराकरणको लागि न त व्यवस्थापनले सोचिरहेको हुन्छ, न त कर्मचारीनै यी विषयमा चिन्तित देखिन्छ । तर यसको दूरगामी असर परिरहेको पछि मात्र थाहा हुन्छ तव संस्थामा समस्या आउँदछ । यसको समाधानको लागि व्यवस्थापनले समयमा नै सोच्नु पर्ने जरुरी छ ।

विश्व ईतिहास हेर्दा पनि हाल बहुराष्ट्रिय कम्पनीहरुमा मानव संसाधनको अतिनै महत्व दिईएको पाईन्छ, जसको कारण बहुराष्ट्रिय कम्पनीहरु सफल भएका छन् । यिनीहरुले आफ्ना कर्मचारीहरुलाई आवश्यक तालिम दिई दक्ष र सक्षम बनाउने कार्य गरेका छन् । यसरी हेर्दा हाम्रो देशमा पनि दिन प्रति दिन सहकारीको संख्या बढ्दै गईरहेको परिप्रेक्ष्यमा मानव संसाधनको प्रयोग अनिवार्य गर्नुपर्ने देखिन्छ । सहकारी संस्थामा कर्मचारीहरु विषयअनुसारको काममा दक्ष भएको र सहकारीको शेयर सदस्य भएको सहकारी सिद्धान्तलाई अन्तर दिलबाट विश्वास गर्ने, निरन्तर र धैर्यसाथ काम गर्ने सम्भावना भएकालाई छनौट गर्नुपर्दछ ।

विकास भन्ने कुरा सदैव व्यक्तिगत हुन्छ । यो व्यक्तिगत तत्वले निर्धारण गर्ने कुरा हो । किनकि प्रत्येक व्यक्ति एक अर्कामा फरक हुन्छ । एउटा व्यक्तिमा परिवर्तन ल्याउनु अथवा योजनालाई कार्यान्वयनमा ल्याउनु एकदम कठिन कार्य हो । मानिसहरु सँग शतप्रतिशत क्षमता हुन्छ तर सूचनाको अभावका कारणले २५ प्रतिशत मात्र क्षमताको प्रयोग भएको हुन्छ । ७५ प्रतिशत क्षमता सुषुप्त रुपमा रहेको हुन्छ जसलाई उजागर गर्न र प्रयोगमा ल्याउनका लागि नियमित तालिम, शिक्षा र सूचना सञ्चारको आवश्यकता पर्दछ । जुन सहकारीको अभिन्न अङ्गको रुपमा रहेको छ ।

प्रत्येक व्यवसायको सफलता ५ वर्षमा दोब्बर हुनुपर्दछ । यो व्यक्तिगत जीवनमा पनि लागु हुन सक्दछ । आफ्नो व्यक्तिगत योजना निर्माण गर्दा पनि ५ वर्षमा दोब्बर हुने गरी योजना निर्माण गर्ने र सो अवधिमा आफूले तय गरेको योजना पूरा भए नभएको मापन गर्नुपर्दछ । मानव संसाधन को बीचमा भावनात्मक सम्बन्ध हुनु जरुरी छ यदि भावनात्मक सम्बन्ध भएन भने संस्थागत लक्ष्य प्राप्त गर्नमा बाधक बनिरहेको हुन्छ । काम भईरहेको देखिन्छ, कर्मचारीहरु पनि व्यवस्थापनको निदेर्शन अनुसार काम गरेको अनुभव गर्दछन् तर हामीहरुको संस्थामा काम लगाउने र गर्ने बीच तादात्म्यता छैन जसको कारण हामी परिणाम निकाल्न सकिरहेका छैनौँ ।

कर्मचारीको जीवनको लक्ष्य जस्ता विषयलाई सस्थाले गौण सोच्दछन् परिणामस्वरुपम व्यवस्थापनले कर्मचारीहरु मेशिन जस्तै काम गरिरहून् भन्ने चाहन्छन्, त्यस्तै कर्मचारीहरु पनि कामको गुणस्तर, लक्ष्यप्राप्ति भन्दा पनि तलबमुखी हुन्छन् । व्यवसायको सफलताको लागि उनीहरुको योगदान कति महत्वपूर्ण छ भन्ने ख्याल गदैर्नन् । हो यही नै अहिलेको विद्यमान व्यावसायिक सम्बन्ध जुन व्यावसायिक सफलता प्राप्त गर्ने कुरामा अदृष्य तवरबाट बाधक बनेको छ र आजको अवस्थामा आई पुग्दा हामीले यही कुरालाई मिलाउनु पर्ने टड्कारो आवश्यकता भएको छ ।

संस्थागत विकासका लागि मानव संसाधन विकासलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । आवश्यक तालिम र व्यक्तित्व विकास सँगसँगै भावनात्मक सम्बन्धको पनि विकास गर्नुपर्दछ । जसले व्यावसायमा भएको यान्त्रिक सम्बन्धलाई जीवन प्रदान गर्दछ । हामीले चाहेको पनि प्राण विहीन होईन जीवित व्यावसाय हो अर्थात प्राण भएको व्यवसाय हो । सहकारीमा कार्यरत कर्मचारी बीच पारिवारिक सम्बन्ध कायम गरेर व्यवस्थापनले लगेमा कर्मचारीहरुको हौसला बढ्न गई सवल र सक्षम सहकारी संस्था निर्माण हुने कुरामा विमति छैन । आज हामीले बनाउन खोजेको मानव संसाधन वास्तवमै नमूना मानव संसाधन हो जसको परिणाम सवल र सक्षम सहकारी संस्था निर्माण हुनु हो ।

यस अवधि सम्म आई पुग्दा हामी बीच सहकारीको विकासको लागि थुप्रै छाता संगठनहरु स्थापित भएका छन् । अब यिनीहरुले के गरे के गरेनन् भनेर विगतलाई हेर्नु भन्दा अबब के गर्नुपर्छ भन्ने विषय अहिलेको आवश्यकता हो । हिजोका कमीकमजोरीलाई शिक्षाको रुपमा लिएर आगामी दिनमा संस्थामा कार्यरत कर्मचारीको क्षमता वृद्धि गर्ने र गुणस्तरीय संस्था निर्माण गर्न सबैले हातमा हात मिलाएर अगाडि बढनु पर्ने देखिन्छ । विद्यमान कानूनको परिपालना गर्दै सम्पूर्ण सहकारी संस्थामा एकरुपता कायम गर्नुपर्ने देखिएकोले यस अभियानमा सम्पूर्ण सहकारीकर्मी एकचित्त भएर लाग्नको लागि पनि हामीलाई आजको दिनले प्रेरणा मिल्ने छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू