सहकारीका कारण आत्मनिर्भर बन्द म्याग्दीका महिला

  • चैत्र २६, २०७५

म्याग्दीका अधिकांश महिला सहकारीका कारण आत्मनिर्भर बन्दै गएका छन् । गाउँगाउँमा खुलेका विभिन्न सहकारीबाट ऋण लिएर आयआर्जनका काम गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्दै गएका हुन् ।

सहकारीले दिने सानो रकमबाट विभिन्न किसिमका व्यवसाय गरेर म्याग्दीका महिला सक्षम बन्दै गएका जनचेतना महिला सहकारी संस्थाका अध्यक्ष देवीकुमारी घिमिरेले बताउनुभयो । विशेषगरी व्यावसायिक बाख्रापालन, तरकारी खेती, किराना पसल तथा अन्य आयआर्जनमूलक व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएको व्यवसायमा संलग्न महिलाहरुले बताए ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले महिला स्वावलम्बन लक्षित विभिन्न कार्यक्रमहरु गाउँगाउँमा पुगेर गर्न थालेपछि विगत पाँच वर्षको तुलनामा अहिले महिलाको अवस्थामा निकै परिवर्तन आएको महारानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिनाथ सापकोटाले बताउनुभयो ।

जिल्लाका ज्यामरुककोट, रत्नेचौर, वावियाचौर, अर्मन, हिस्तान, राम्चे, शिखलगायतका गाउँमा सहकारी र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा महिलाले उल्लेख्य प्रगति गर्न सफल भएका छन् । सिर्जनशील महिला समूहमा आवद्ध रोहोटेकी निर्मला शर्माले सहकारीबाट लिएको सानो रकमले गाउँमा तरकारी खेती र किराना पसल सञ्चालन गर्नुभयो । अहिले तरकारी खेतीबाट मासिक रु आठ हजार र किराना पसलबाट मासिक रु १२ हजारसम्म आम्दानी हुने गरेको बताउने शर्माले ५ जनाको परिवार चलाउनुका साथै आफूले ल्याएको ऋण तिरेर विभिन्न बैंक तथा वित्तीय संस्थामा बचतसमेत गरेको बताउनुभयो ।

त्यसैगरी अर्मनकी रेनु कँडेलले पनि स्थानीय महिला समूहबाट रु २२ हजार ऋण लिएर ६ वर्ष अघिदेखि बाख्रा र कुखुरापालनका साथै तरकारी खेती पनि गर्नु भएको छ । व्यवसायबाट आफू आर्थिकरूपमा बलियो बन्दै गएको कँडेलले बताउनुभयो । पहिला बिहानबेलुकाको गर्जो टार्न पनि मुस्किल पर्ने कँडेललाई अहिले भने जीवन सहज लाग्न थालेको छ । बाख्रा, कुखुरा र तरकारी बिक्री गरेर मासिक रु २० हजारको हाराहारीमा कमाइ गर्ने कँडेलले सोही रकमबाट गाउँमा जग्गासमेत जोडेको बताउनुभयो ।

शर्मा र कँडेल त उदाहरण मात्रै हुन् । अहिले जिल्लामा सहकारी र विभिन्न संस्थाको सहयोगका कारण गाउँका महिला आत्मनिर्भर बन्दै गएका प्रशस्त उदाहरण देख्न सकिने जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले बताउनुभयो ।
रासस

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू