सहकारीबाट सहज रुपमा ऋण पाएपछि ग्रामीण किसान व्यावसायिक कृषिमा आकर्षित

  • चैत्र २७, २०७५

सहकारीले सहज रुपमा ऋण दिन थालेपछि ग्रामीण किसान व्यावसायिक कृषिमा आकर्षित हुन थालेका छन् ।

सामान्य पशुपालन र खेती गर्ने किसान सहकारीबाट ऋण पाएपछि व्यावसायिकरूपमा काम गर्न थालेका हुन् । सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था भोटेचौर सिन्धुपाल्चोकका अध्यक्ष अध्यक्ष शिवप्रसाद चौलागाईं सहकारीको ऋणका कारण गाउँमा व्यावसायिकरुपमा खेती र पशुपालन गर्नेको संख्या बढ्न थालेको बताउनुभयो ।

“बैंक तथा वित्तीय संस्थाले गाउँका घर–जग्गा राखेर ऋण दिँदैनन”, उहाँले भन्नुभयो, “बैंकले नपत्याएका किसानलाई सहकारीले ऋण दिन थालेपछि व्यावसायिकरुपमा पशुपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती गर्नेको सङ्ख्या बढेको छ ।” सहकारीले राष्ट्रिय सहकारी बैंकबाट थोक कर्जा लिएर कृषिलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । सहकारीले सहयोग गर्न थालेपछि भोटेचौर क्षेत्रमा व्यक्तिगत र संस्थागतरूपमै व्यावसायिकरूपमा कृषि गर्नेको संख्या बढ्दै गएको हो ।

मलेसियामा चार वर्ष सुरक्षा गार्डको काम गरेका राजन गुरुङ, देवेन्द्र गुरुङलगायतका २३ जना साथी मिलेर भोटेचौरमै सामूहिक किवी खेती सुरु गरेका छन् । उनीहरूले हरियाली कृषक समूह गठन गरी ३९ रोपनी जग्गामा सुरु भएको किवी खेतीमा सहकारीको ३५ लाख ऋण छ । उच्च मूल्य रहेको किवी खेतीलाई उनीहरुले एक करोडसम्म लगानी गर्ने योजना बनाएका छन् ।

भोटेचौरकै अर्का किसान सुन्दर चौलागाईंलगायतका किसान मिलेर अन्नपूर्ण अग्र्यानिक कृषि कम्पनीमार्फत १ सय ५९ रोपनी जग्गामा पनि व्यावसायिक किवी खेती सुरु भएको छ । सहकारीको ३५ लाख रूपैँया ऋण लिएर सुरु गरिएको यस परियोजनामा एक करोड ५० लाख लगानी गर्ने योजना उनीहरूको छ ।

यसैगरी मेलम्ची–३ बाजखेतका पुरुषोत्तम खतिवडाले पनि आठ वर्ष दुवईमा बिताउनुभयो । आफ्नै बचतबाट तीन सयवटा कोइलर चल्लाबाट सुरु गरिएको व्यवसायलाई उहाँले सहकारीबाट ऋण लिएर विस्तार गर्दै लग्नु भएको छ । उहाँले हाल चार हजार कुखुरा अट्ने क्षमताको खोर बनाएर ३ हजार कोइलर कुखुरा पालन गरिरहनु भएको छ । उहाँको अजित कृषि फार्मले कुखुरासँगै मौसमअनुसारका व्यावसायिक तरकारी उत्पादनसमेत गर्दै आएको छ ।

यसैगरी भोटेचौरकै कृषक गायत्री चौलागाईले व्यावसायिकरूपमा भैंसीपालन गरिरहनु भएको छ । सहकारीका साथै लघुिवत्तबाट समेत ऋण लिएर भैंसिपालन गरिरहनु भएकी उहाँले सस्तो ब्याजमा ऋण पाए यसलाई अझै बढाउने बताउनुहुन्छ । काठमाडौंबाट नजिक रहेको र सडक यातायातको राम्रो सुविधा रहेको भोटेचौरमा व्यावसायिकरूपमा कृषिको काम बढिरहेको छ । भूकम्पपछि व्यावसायिकरूपमा कृषिमा लाग्नेको संख्या बढेको र यसका लागि सहकारीले सहयोग गरिरहेको सहकारी संस्थाका अध्यक्ष चौलागाईं बताउनुहुन्छ ।

सहकारीले राष्ट्रिय सहकारी बैंकबाट ८५ लाख रूपैँया ऋण लिएर सदस्यलाई लगानी गरिरहेको र त्यो अपुग भएको उहाँले बताउनुभयो । “व्यावसायिक कृषिका लागि ऋण माग्नेको सङ्ख्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “तर हामीसँग पुँजी अभाव भएकाले मागेजति ऋण दिन सकेका छैनौं ।” यसैगरी सहकारीको ऋण महङ्गो भएकाले यसलाई घटाउनुपर्ने र सहुलियत कर्जाहरु सहकारीमार्फत परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

सहकारी संस्थाले सदस्यहरुलाई बचत तथा ऋणका अतिरिक्त सुपथ मूल्यमा मल तथा बीउ उपलब्ध गराउनुका साथै व्यावसायिक परामर्शसमेत दिँदै आएको छ । यसका लागि २ जना जेटिए र एक जना पशु प्राविधिक राखिएको अध्यक्ष चौलागाईंले बताउनुभयो । सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिइएको बताउनुहुन्छ ।

“अहिले हामीसँग भएको पुँजीको लागत नै उच्च भएकाले व्याजदर महंगो नै छ”, उहाँले भन्नुभयो, “उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न अन्य कर्जाभन्दा यसमा ०.५ प्रतिशत कममा ऋण दिँदै आएका छौं ।” सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन कृषि कर्जामा दिँदै आएको व्याज अनुदान सहकारीलाई पनि दिनुपर्ने उहाँको भनाइ थियो ।
कारोबार

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू