समुदायमा आधारित सहकारी

  • बैशाख २, २०७६

सहकारीका आफ्नै विश्वव्यापी मान्यता, विशेषता र सिद्धान्त छन् । नेपालमा सहकारिताको संस्थागत विकासको प्रयास विभिन्न ढङ्गले विगत साढे ६ दशकअगाडिदेखि हुँदै आएको छ । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना अर्थात् २०४८ पश्चात् सहकारीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सहकारी आन्दोलनलाई स्थापित गर्ने सन्दर्भमा सहकारीको संख्यात्मक वृद्धि हुनुलाई राम्रै ठान्नुपर्छ ।

सहकारीका माध्यमबाट लाखौं व्यक्ति आ–आफ्नो उन्नति–प्रगतिका लागि संगठित भएका छन् । स–सानो व्यवसायका लागि स्थानीय पुँजी परिचालन गर्न फजुल खर्चको कटौती गरी बचत गर्ने प्रवृत्ति बढिरहेको छ । सहकारीको माध्यमबाट अर्बौं पुँजी प्रवाह भएको छ । हजारौंले रोजगारी पाएका छन् । सहकारीबाट हुने आर्थिक परिचालनले गर्दा विगतमा विशेष गरी गाउँघरमा हुने गरेको साहूको चको आर्थिक शोषणको मारबाट जोगिनुका साथै सामाजिक शोषणसमेत कम भएको छ ।
सामाजिक सद्भाव बढाउन पनि मद्दत पुगेको छ । यसरी हेर्दा सहकारिताको विकासले देशको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण सहयोग पुगेको छ ।
सहकारीको सङ्ख्यात्मक वृद्धिले सहकारी आन्दोलनलाई आमजनसमुदायमा पु¥याउन सफलता मिले पनि यसले सांस्कृतिक आन्दोलनको रुप लिन भने सकेको छैन । सहकारीमा सबै सदस्यको समान पहुँच हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यताका बाबजुद सदस्यले व्यवहारमा अनुभूति गर्न पाएका छैनन् । सहकारी संस्थाभित्र जो अलि टाठोबाठो छ उसैले बढी फाइदा लिने गरेको पाइन्छ । यस खाले प्रवृत्तिले सिङ्गो सहकारी आन्दोलन नै बदनाम भएको छ । कतिपय सहकारी सर्वसाधारण सदस्यहरुलाई विचल्लीमा पारेर रातारात गायब हुने गरेको सुनिन्छ । विशेष गरेर वस्तुगत आवश्यकताभन्दा पनि अरुको देखासिकी, नक्कलका रूपमा निर्माण भएका सहकारीहरूमा सहकारीका आधारभूत मूल्य तथा मान्यता परिपालना हुन नसकेको देखिन्छ ।

सहकारी आन्दोलनलाई कसरी गुणात्मक सहकारी संस्कृतिका रुपमा स्थापित गर्न सकिएला ? यो प्रश्नको समाधान खोजी गर्ने सन्दर्भमा चलनचल्तीका सहकारीहरुभन्दा अलि पृथक् ढङ्गले अभ्यास गर्दै विकसित भइरहेका सहकारीहरूको केही अनुभवजन्य सफलताहरुका बारेमा चर्चा गरौं । यी समुदायमा आधारित सहकारी हुन् । यी सहकारीहरूको गठनविधि बेग्लै प्रकारको हुन्छ । उद्देश्य फराकिलो हुन्छ । समुदायमा आधारित सहकारीको रुपपक्षभन्दा अझ सारपक्ष भिन्न हुन्छ । त्यो के हो भने विपन्नताका कारण केवल आर्थिक पक्षसँगमात्रै सम्बन्धित हुँदैन, विपन्नताका कारण सामाजिक, सांस्कृतिक, संस्कारगत मानसिकता र मानवीय पक्षहरु पनि उत्तिकै कारक रहेका हुन्छन् ।

समुदायमा आधारित सहकारीहरुले सहकारिताका आधारभूत मान्यताभित्र यी पक्षलाई सम्बोधन गर्ने प्रयत्न गरेका हुन्छन् । समुदायको समष्टिगत विकासलाई सहकारी अभियानमा समेटेर संस्थागत गराउने प्रयत्न गर्छन् । समुदायमा आधारित सहकारीमा सम्पन्नले विपन्नलाई कसरी हेर्ने र विपन्नले आफंैलाई कसरी बुझ्ने भन्ने अहम् सवाल गाँसिएको हुन्छ । व्यक्ति, परिवारको आर्थिक उन्नतिका साथसाथै आनीबानी, व्यवहार–आचरण, संस्कार, संस्कृति, जीवनयापन, ज्ञान, स्वाभिमान सबै कुरा सहकारी आन्दोलनका मुद्दा हुन् भन्ने समुदायमा आधारित सहकारीले ठान्दछन् । साथै यस प्रकृतिका सहकारीले जातीय, लैङ्गिक, वर्गीय, क्षेत्रीय विभेदबाट मुक्ति हुने कुरामा पनि उत्तिकै महत्व दिएका हुन्छन् ।

समुदायमा आधारित सहकारीहरु सामाजिक परिचालनको माध्यमबाट गठन हुने हुनाले सदस्यहरूले संस्थाको उद्देश्य, आफ्नो भूमिका, सहकारीका आधारभूत सिद्धान्त, मूल्य–मान्यतालाई आत्मसात् गरेका हुन्छन् । सदस्यहरूलाई सामाजिक परिचालनको माध्यमबाट प्रारम्भमा समूहमा र दोस्रो चरणमा सहकारीमा संगठित गरिन्छ । सहकारीमा आवद्ध हुनुअगाडि समूहमा संगठित भएर सदस्यले समूहले बनाएका नीति, नियम, आचारसंहितालाई पालना गरेका हुन्छन् । समूहका बीचमा यसरी अभ्यास गरिसकेपछि सदस्य–सदस्यका बीचमा विश्वासको वातावरण बन्छ । जसले गर्दा आपसी मेलमिलाप र एकताका लागि अनुकूल वातावरण बन्छ । बाह्य रूपमा हेर्दा अन्य सहकारीमा भन्दा समुदायमा आधारित सहकारीमा संगठित हुने प्रक्रिया जटिल लाग्न सक्छ । तर, प्रजातान्त्रिक पद्धतिको सही अभ्यासका लागि र आमसदस्यको अपनत्वका लागि समूहको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ ।

समुदायमा आधारित सहकारीहरू निर्माण हुनुअगाडिको पूर्वअभ्यासका रूपमा समूहहरूका बीचमा सहकारीको आधारभूत ज्ञानका लागि तालिम, अन्तत्र्रिmया, छलफल हुन्छ । समूहमा आवद्ध सदस्यले तालिम, अन्तत्र्रिmयापश्चात् सहकारी संस्थाको आवश्यकताको बोध गर्छन् । समूह–समूहको बीचमा मिलेर धेरै काम गर्न सकिने सम्भावना बुझ्दछन् । यी कुराले सहकारीलाई विधिसम्मत ढंगले अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

सहकारीको सञ्चालक समिति समूहको प्रतिनिधिमूलक निर्वाचन प्रक्रियाबाट गठन भएको हुन्छ । सञ्चालक समितिले सबै कार्यक्रम समूहद्वारा लागू गर्छ । सहकारीको सञ्चालक समितिको नियमित बैठक बस्नुअगाडि समूहको बैठक बस्छ । सञ्चालक समितिले समूहबाट आएका माग र सिफारिसका आधारमा निर्णय लिने गर्छ । समूहको माग र प्राथमिकताका आधारमा सहकारीको योजना बनेको हुन्छ । सहकारीको साधारणसभा हुनुभन्दा पहिले समूहमा समूहगत समीक्षा हुन्छ, जसले गर्दा सहकारीका सबै सदस्यको पूर्ण तथा सक्रिय सहभागिता रहन्छ ।

सामान्यतया ३० जना सदस्य मिलेर सहकारी गठन गर्न सकिन्छ, तर समुदायमा आधारित सहकारी (जसलाई दुईपाङ्ग्रे मोडलको सहकारी पनि भनिन्छ) समूहको माध्यमबाट मात्र बनाउन सकिन्छ । अन्य सहकारीहरू बनाउँदा सहकारिताका आधारभूत कुरा पूरा गरेपछि सहकारी बनाइन्छ भने समुदायमा आधारित सहकारी बनाउँदा सहकारिताका आधारभूत कुरा पूरा गर्नुका साथै सामाजिक परिचालनको माध्यमले समूहमा संगठित भएर मात्रै सहकारी निर्माण हुन्छ ।

सामान्यतया एउटा परिवारका सबै सदस्यहरू कुनै सहकारीको सदस्य हुन सक्छन् तर समुदायमा आधारित सहकारी एक परिवार एक सदस्यको मान्यतामा गठन गरिन्छ । भन्नुको तात्पर्य पूरै परिवारलाई सहकारीको सदस्यका रूपमा लिइन्छ । समुदायमा आधारित सहकारीको सञ्चालक समितिको गठन समूहको छनोटद्वारा हुन्छ र सबै पक्षको सन्तुलित प्रतिनिधित्व रहेको हुन्छ । अन्य सहकारीको सञ्चालक समितिको गठन आमसदस्यका बीचबाट गरिएको हुन्छ, जसले गर्दा कमजोर समुदायबाट प्रतिनिधित्व नहुन सक्ने सम्भावना बढी हुन्छ ।

समुदायमा आधारित सहकारीहरूमा सहकारीले गर्ने कामलाई अधिकार प्रत्यायोजन गरी समूह तहमा विकेन्द्रित गरिन्छ, जसले गर्दा लक्षित परिवारको सहकारीको सेवामा पहुँच पुग्छ । सदस्यहरूले सहकारी संस्थाको संस्थागत नियम–विनियिमका अतिरिक्त समूहहरूले बनाएका समूहगत नीति–नियम, निर्देशनलाई पालना गर्नैपर्ने प्रावधान हुन्छ । यस प्रकृतिका सहकारीको गतिविधि बहुआयामिक हुने हुनाले सरकारले प्रदान गर्ने सेवा र अवसरहरूमा आफ्ना सदस्यको पहुँच पु¥याउनमा सहयोगी भूमिका समेत निर्वाह गर्छन् ।

यस प्रकृतिका सहकारीले नागरिक संगठनको भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्ने काम पनि गर्छन् । यिनीहरूको सुशासनमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । अन्य सहकारी संस्थामा सेयर सदस्यहरू साधारणसभामा मात्र सहभागी हुने प्रावधान छ भने समुदायमा आधारित सहकारीमा समूहको बैठक मासिक रूपमा नियमित आयोजना हुन्छ र उक्त बैठकमा सबै सदस्य अनिवार्य उपस्थित हुन्छन् र संस्थाको सञ्चालक समितिका पदाधिकारी पनि सम्मिलित हुन्छन् । बैठकमा सहकारी तथा समूहका नियमित क्रियाकलापका बारेमा छलफल हुन्छ । यस प्रकारको सहभागिताले संस्थाका नियमित गतिविधिसँग सबै सदस्य निरन्तर सुसूचित हुन्छन् भने समूहका क्रियाकलापका बारेमा सहकारीले पनि थाहा पाउँछ ।

अन्त्यमा, राज्यले सहकारीलाई विकास तथा समृद्धिको एउटा प्रमुख पाटोका रूपमा लिएको भए तापनि विगत केही वर्षयता सहकारीका सफलताहरूले भन्दा पनि असफलताहरूले धेरै चर्चा पाएको देखिन्छ । यस प्रकारको असफलताबाट सहकारीहरूलाई जोगाएर सफलतातर्फ डो¥याउनका लागि र विकास तथा समृद्धिको एउटा प्रमुख पाटोका रूपमा सहकारी आन्दोललाई अगाडि बढाउनका लागि समुदायमा आधारित सहकारी अवधारणा उपयुक्त हुन सक्ने देखिन्छ ।
(शिवप्रसाद बस्याल- कारोबार)

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू