दुग्ध उत्पादक किसान र उपभोक्ता मर्कामा, सहकारीलाई कमाई

  • बैशाख २, २०७६

किसानले उत्पादन गरेको गाईभैंसीको दूध बिचौलियालाई नाफा कमाउने माध्यम मात्र बनेको छ । किसानबाट स्थानीय सहकारीले संकलन गरेको दूध जिल्ला दूग्ध सहकारीसम्म पुग्दा मूल्यमा करिब ४० प्रतिशतको अन्तर पर्ने गरेको छ ।

मकवानपुरका किसानले स्थानीय सहकारीलाई प्रति लिटर सरदर ४७ रुपैँयामा दूध बिक्री गर्दै आएका छन् । तर उपभोक्ताको चुल्होमा पुग्दा प्रति लिटर ७०–७५ रुपैँया पर्ने गरेको छ । स्थानीय सहकारीले सङ्कलन गरेको दूधको २० प्रतिशत मात्र आफ्नो इच्छाअनुसार बिक्री गर्न पाउँछन् । बाँकी ८० प्रतिशत जिल्ला दुग्ध सहकारी संघलाई दिनुपर्ने सम्झौता छ । स्थानीय सहकारीले पनि प्रतिलिटर ६८ रुपैँयासम्ममा उपभोक्तालाई बिक्री गर्छन् ।

जिल्ला दूग्ध सहकारीले स्थानीय सहकारीमार्फत सरदर ५५ रुपैँया ६३ पैसामा दूध खरिद गर्ने गरेको संघको जनाएको छ । जिल्ला संघ र सहकारीबाट खरिद दूध स्थानीय व्यवसायीले भने प्रतिलिटर ७०–७५ रुपैँया प्रतिलिटरमा उपभोक्तालाई बेच्ने गरेका छन् । “हामी दुःख गरेर दूध उत्पादन गर्ने तर नाफा जति बिचौलियाको हातमा छ”, मकवानपुरगढीका किसान प्रेमप्रसाद दाहालले भन्नुभयो, “हामीले मुश्किलले लागत उठाउँछौं, उपभोक्तालाई पनि महँगो पर्छ ।”

जिल्ला दूग्ध सहकारी संघका व्यवस्थापक कुमार दहालले दूधको मूल्य किसानले थोरै पाएको स्विकार्नुभयो । खरिद मूल्यभन्दा २२ रुपैँया बढीमा बिक्री गर्नु गैरकानूनी भएको उहाँले घुमाउरो तवरबाट स्वीकार गर्नुभयो । “किसानले पाएको मूल्यमा २२ रुपैँया फरक हो, यो दूरीलाई कम गर्नुपर्छ घटाउनुपर्छ भनेर हामी लागिरहेका छौं”, उहाँले भन्नुभयो, “त्यसको लागि उत्पादन लागत घटाउन सरकारले अनुदान दिने र अन्य सहुलियत व्यवस्था गर्नुपर्छ ।”

संघमा ४९ दूग्ध उत्पादक सहकारी आवद्ध छन् । तीमध्ये दूधको चिल्लोपना, एसएनएफ जाँच्ने प्रविधि ३९ सहकारीसँग रहेको संघले जनाएको छ । अन्य सहकारीले परम्परागत तथा अनुमानका भरमा दूधको गुणस्तर नाप्ने गरेका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास आयोजना डीडीसी हेटौंडाका प्रमुख गणेशकुमार यादवले प्रशोधन नगरेको दूधलाई प्रशोधित दूधको मूल्यमा बेच्नु कानुनविपरीत भएको बताउनुभयो । “मकवानपुरमा दूधको सिन्डिकेट छ, त्यसमाथि अप्रशोधित दूध प्रशोधित दूधकै मोलमा बिक्री गरिनु कालोबजारी हो”, उहाँले भन्नुभयो । किसानले उत्पादन गरेको सबै दूध सरकारी दररेटमा संस्थान खरिद गर्न तयार रहेको उहाँले बताउनुभयो । “सहकारीको सिन्डिकेटका कारण त्यो हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दूधको मूल्यमा परेको अन्तर र प्रशोधन नगरी बिक्री गरिएको दूधबारे अनुगमन भइरहेको बताउनुभयो । “स्थानीय प्रशासनको तहबाट हामीले के गर्न सक्छौं, किसानको हित हुने गरी अनुगमन र कारवाही गर्छौ”, उहाँले भन्नुभयो । संघका अनुसार मकवानपुरका किसानले वर्षेनी दूध बिक्री गरेर ३५ करोड रुपैँयाभन्दा बढी रकम गाउँमा लैजाने गरेका छन् ।

किसान र उपभोक्ता दुवै मारमा परे पनि मकवानपुर दूधमा आत्मनिर्भर रहेको छ । यहाँ उत्पादित दूध बाहिरी जिल्लामा समेत जाने गरेको छ । वर्षेनी प्रत्येक व्यक्तिले कम्तिमा ९१ लिटर दूध सेवन गर्नुपर्छ । दूग्ध विकास संस्थान हेटौंडाका अनुसार मकवानपुरमा एक वर्षमा करिब ५५ हजार मेट्रिकटन दूध उत्पादन हुने गरेको छ ।
यसअनुसार मकवानपुरका बासिन्दालाई प्रतिवर्ष प्रतिव्यक्ति १ सय ३ लिटर दूध सेवन गर्न पुग्ने उत्पादन हुने गरेको छ ।

कृषकले व्यावसायीक पशुपालन सुरु गरेकाले दूध उत्पादन बढेको हो । स्थानीय र उन्नत गरेर करिब १ लाख २० हजार गाई र १ लाख भैंसी रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको अनुमान छ । जिल्लामा १ सय १० गाई फार्म र एक दर्जन भैंसी फार्म छन् ।
अन्नपूर्ण

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू