मकवानपुरका सहकारीद्वारा चन्द्रागिरी साकोसको अध्ययन भ्रमण : तीन सहकारी सम्मानित

  • बैशाख २, २०७६

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले काठमाडौँको चन्द्रागिरी नगरपालिका ७ थानकोट महादेवस्थान स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष राधा सिन्तानको नेतृत्वमा आएका टोलीले चन्द्रागिरी सहकारीको अध्ययन अवलोकन गरेको हो । अध्ययन भ्रमण टोलीमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट प्रतिनिधित्व गरी जम्मा १९ जनाको सहभागीता रहेको थियो ।

भ्रमणमा आउने संस्थाहरुमध्ये ३ वटा संस्था नेपाल सरकार सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) द्वारा २०७५ पौष ५ गते प्रोबेसन ब्रान्ड प्रमाणीकरण प्राप्त गर्न सफल भएका संस्थाहरु रहेका थिए । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले उक्त अध्ययन भ्रमणको कार्यक्रमको क्रममा ती तीन संस्थाहरुलाई सम्मान समेत गरेको छ ।

सहकारी अभियानका लागि अनुकरणीय कार्य गरी नेपालस्तरीय ब्रान्ड प्राप्त गर्न सफल भएकोमा गौरवान्वित हुँदै आगामी दिनहरुमा समेत समुदाय र राष्ट्रको समृद्धिमा योगदान पुर्याउन सफलता मिल्ने विश्वास गर्दै संस्थाहरुलाई सम्मान गरेको जनाएको छ । सम्मानित हुने संस्थाहरुमा मकवानपुर जिल्ला भिमफेदी ४ स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था, मकवानपुरगढी ३ स्थित महिला जागरण बचत तथा ऋण सहकारी र हेटौडा १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

सम्मानका क्रममा महिला अभियानको लेखा संयोजक राधा सिन्तान, महिला जागरणको अध्यक्ष कल्पना श्रेष्ठ र महिला मिलनको अध्यक्ष विष्णुमाया लामालाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू