श्रमिक सहकारीबाटै विश्व सहकारी अभियानको सुत्रपात

  • बैशाख ११, २०७६

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष बडालले श्रमिक सहकारीबाटै विश्व सहकारी अभियानको सुत्रपात भएको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा सहकारी विभागको सहयोगमा आज सञ्चालित श्रमिक सहकारी संस्था गठन सम्बन्धमा सरोकारवालाहरुसँगका अन्तक्रिर्या कार्यक्रमा अध्यक्ष बडालले यस्तो बताउनु भएको हो । सहकारी श्रमिकको सम्मान गर्ने क्षेत्र भएको बताउँदै उहाँले श्रमिकहरुको हितका लागि सहकारी जन्मिएकाले श्रमिकहरु आत्मनिर्भर र उद्यमशील बन्नका लागि अपरिहार्य भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले श्रमिक सहकारी गठन गर्नुको आवश्यकतामाथि विस्तृत रुपमा प्रकाश पर्नु भएको थियो । महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य उपाध्यक्ष ओमदेवी मल्लले महिला सशक्तिकरणमा सहकारीको योगदान उल्लेख्य रहेको बताउँदै श्रमिक महिलाहरुले आर्थिक रुपमा आत्मनिर्भर हुन र आफ्नो आत्मसम्मानका लागि सहकारी उपयुक्त माध्यम हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि शौरभ शाहले सहकारी र श्रमिकको सम्बन्धमाथि प्रकाश पार्दै महासंघसँग विगत लामो समयदेखि सहकार्य गर्दै आइरहेको स्पष्ट पार्नुभयो । महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले नेपालमा श्रमिक सहकारीको आवश्यकता भएको र श्रमिक सहकारीबाट नै आम नेपाली श्रमिकहरुको उत्थान हुने विचार व्यक्त गर्नुभयो ।

अन्तरकृया कार्यक्रममा सहकारी विभागका अधिकृत टोपलाल अर्याल र काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले श्रमिक सहकारी गठन र औचित्य सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महासंघका सञ्चालक सुरेन्द्र भण्डारीको समेत उपस्थिति थियो । कार्यक्रमको सहजिकरण महासंघका नायब महाप्रबन्धक बाबुल खनालले गर्नु भएको थियो ।

कार्यक्रममा होटेल, रेष्टुराँ लगायत निजी क्षेत्रका विभिन्न प्रकृतिका उद्यमशील क्षेत्रमा क्रियाशील श्रमिकहरुको सहभागीता रहेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू