आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सहकारीले सघाउँछ : दक्ष पौडेल

  • बैशाख २३, २०७६

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाले सघाउने बताउनुभयो ।

सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा देशको विकासका लागि सहकारीहरुले आफ्ना सदस्यहरुलाई समृद्धिको मार्गमा डो¥याउनु पर्ने बताउदै पौडेलले आर्थिक समृद्धिको वैज्ञानिक आधार सहकारी भएको समेत बताउनुभयो ।

सह–अध्यक्ष पौडेलले मुलुकका लागि अब अब आर्थिक समृद्धि र विकास चाहिएको धारणा समेत राख्नुभयो । “सामूहिक विकासका लागि भूमिका खेल्न सक्ने संस्था सहकारी हो”, उहाँले थप्नुभयो, “सहकारीको स्रोतलाई उत्पादनमा लगाउनु पर्छ ।” नेपालका सहकारीमा स्रोतको भन्दा पनि सोंचको कमी भएको बताउदै लगानी वृद्धि गर्न सहकारी ऐन र नियमावलीले सघाउने विह्वास व्यक्त गर्नुभयो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी संस्था उत्पादनमा लागेर आर्थिक समृद्धिमा सघाएको बताउनुभयो । जनताले चाहेको समृद्धिमा सहकारी सहयोगी बन्न सक्ने भन्दै भण्डारीले राज्यले पनि सहकारीलाई प्रोत्साहन गर्नुपर्ने तर्क राख्नुभयो ।

यसैगरी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी सहकारी अभियानलाई सार्थक र सफल बनाउन सबै सहकारी संस्था हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । “सरकारले हरेक क्षेत्रमा सहकारीलाई प्राथमिकता दिएको छ”, जिसीले भन्नुभयो, “सहकारीको पुँजी परिचालन गरेर समृद्धिको अभियानमा अघि बढ्नुपर्छ ।”

कार्यक्रमका वक्ताहरुले मुलुकभर रहेका ३४ हजार पाँच सय १२ सहकारीमा रहेको करिब ७५ अर्बको सेयर पुँजी परिचालन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । सहकारी संस्थाले वार्षिक करिब साढे पाँच खर्बको कारोबार गरेर अर्थतन्त्रमा योगदान पु¥याएको समेत उनीहरुको दाबी थियो ।

कार्यक्रममा बागलुङ, म्याग्दी र पर्वतबाट गरी करिब एक सय बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई सयजना सहभागीको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू