मकवानपुरमा १० सहकारीबाट गाउँपालिका स्तरिय सञ्जाल गठन

  • बैशाख २६, २०७६

मकवानपुरगढी गाउँपालिकामा रहेका १० वटा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाबीच समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिको आयोजनामा गाउँनगर क्षेत्रका सहकारीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको हो । गढी ३ मा रहेको महिला जागरण साकोसको सभाहलमा भएको कार्यक्रममा पालिका भरिमा रहेका १० वटा सहकारी संस्थाले सहभागिता जनाएका थिए ।

गाउँपालिकाले तयार पारेको सहकारी नीति, संघीय सरकारले ल्याएको सहकारी नीति, ऐन, नियमावली जस्ता विषयमा छलफल गरिएको थियो । पालिकाले आगामी वर्षमा ल्याउने बजेट, नीति कार्यक्रम कस्ता कस्ता गर्ने जस्ता विषयमा छलफल गरिएको थियो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले सञ्चालन गर्न गाह्रो भइरहेका सहकारीहरु एकिकरण गरेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले सहकारीलाई पालिकाबाट प्रशस्त बजेट रहेको बताउदै सोही अनुरुप कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । सहकारीले कोपोमिस सफ्टवेयर प्रयोग गरेर सहकारीका सम्पूर्ण कारोबार राखेर सहज गराउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सहभागिको तर्फबाट जनहित स्वावलम्बन साकोसका व्यवस्थापक दीर्घ बहादुर थापा र महिला जागरण साकोसका सचिव गौरी सुवेदीले सहकारीमा भएका समस्या, संघले गरेका सेवा सुविधा र गरेको कार्यक्रम बारे आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा गाउँशहर उपसमितिका संयोजन विष्णुमाया लामाको अध्यक्षतामा भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका १० वटा सहकारीको तर्फबाट दुई जना प्रतिनिधि हुनेगरी २० जनाको गाउँपालिका स्तरिय सञ्जाल कमिटि गठन भएको छ । सञ्जालको संयोजकमा महिला जागरण साकोसका अनिता सापकोटा, सहसंयोजकमा श्रृजनशिल समाज साकोसका कृष्ण विडारी,कोषाध्यक्षमा जनहित स्वावलम्बन साकोसका दीर्घ बहादुर थापा, सचिवमा महिला कल्याण साकोसका मेनुका न्यौपाने, सह–सचिवमा एकता स्वावलम्बन साकोसका गुन्जरत्न लुङ्वा चयन हुनु भएको छ ।

सञ्जालमा १५ जना सदस्य रहने छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू