सिभिल होम्सको जग्गा रोक्का, सहकारीलाई पत्र

  • बैशाख २९, २०७६

उच्च अदालत पाटनले सिभिल होम्स प्रालिका जग्गा रोक्का गर्न आदेश दिएको छ ।

अदालतको वैशाख १९ गतेको आदेशले कित्ता नम्बर २४२५को घरजग्गा रोक्का राख्न आदेश दिएको हो । अदालतले मालपोत कार्यालय डिल्लीबजारलाई पत्राचार गर्दै उक्त घरजग्गा निवेदनमा अर्को आदेश नभएसम्म हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न आदेश दिएको हो । न्यायाधिश केशवराज जोशी र हरिप्रताप केसीको संयुक्त इजलासले जग्गा रोक्का गर्न आदेश दिएको हो ।

अदालतले सिभिल होम्सलाई ऋण दिदाँ के कुन सम्पत्ति सुरक्षणको रुपमा लिएको भन्दै सिभिल सहकारीलाई प्रश्न उठाएको छ । साथै पत्र पाएको तीन दिनभित्र जवाफ पठाउन आदेश गरिएको छ । तर सिभिल सहकारीले अझै पत्रको जवाफ पठाएको छैन । अदालतले १९ गतेको आदेशअनुसार वैशाख २२ गते मालपोत कार्यालयमा पत्राचार गर्दैै अन्तिम आदेश नभएसम्म कुनै व्यहोराले हकहस्तान्तरण गर्न नपाउने नगरी हाल रोक्का राखी रोक्का रहेको जानकारी पठाउन अनुरोध गरिएको छ ।

सहकारीका सदस्य शिवलाल भण्डारीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीले सुरक्षण बिना सिभिल होम्सलाई ऋण दिएको भन्दै उजुरी दिएका थिए । सिभिल सहकारीले झण्डै ९१ प्रतिशत सिभिल होम्सलाई ऋण प्रवाह गरेको छ । २४२५ कित्तानम्बरको ६ रोपानी जग्गामा अपार्टमेनट निर्माणीधन क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैँया कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा झण्डै ९१ प्रतिशत लगानी गरिएको छ । यसरी आफैं सञ्चालक भएको सहकारीको ऋण निजी कम्पनीमा लगाउनु गैरकानुनी हो ।

सिभिल सहकारीका निश्चित सञ्चालकहरुले आफूखुसी गर्न थालेपछि सदस्यहरुमा चरम असष्तुष्टी देखिन थालेको छ । केही सञ्चालकले मनोमानी ढंगले सहकारी सञ्चालन गरेको भन्दै असन्तुष्ट सदस्यहरु नियामक निकायदेखि अदालतसम्म धाउन थालेका छन् ।

सदस्यहरुले निश्चित व्यक्तिहरुले संस्थाबाट अनुचित लाभ लिने र संस्थालाई आर्थिक दायित्व बहन गर्ने गरेको आरोप लगाएका छन् । सहकारीको मूल्य, मान्यता विपरित वाणिज्य बैंकको जस्तो कारोबार गरी सहकारीको सिद्वान्तभन्दा बाहिर रहेको कारोबार गरेको भन्दै नियामक निकायमा उजुरी दिएका हुन् ।

संस्थाले आफ्नै स्वामित्वका तीनवटा व्यवसायलाई अन्धाधुन्ध कर्जा प्रवाह गर्दा सहकारीको सात अर्ब रुपैँयाभन्दा बढी डुब्ने खतरा बढेको सेयर सदस्य बताउँछन् । सहकारीका दुई हजार ६ सय ९० सदस्य बचतकर्ता छन् । सिभिलले निक्षेपकर्ताबाट सात अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ । उसले आठ अर्ब १३ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ । निक्षेपभन्दा कर्जा बढी हुनु सहकारीमा अति जोखिम मानिन्छ । त्यही कारण पनि अरू सदस्यले ऋण पाउन सकेका छैनन् ।
अन्नपूर्ण

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू