चार वर्षभित्र सहकारी संस्थाको संख्या ५० प्रतिशतले घट्छ : मन्त्री अर्याल

  • बैशाख ३०, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले चार वर्षभित्र नेपालमा सञ्चालित सहकारी संस्थाको संख्या ५० प्रतिशतले घटाइने बताउनु भएको छ ।

बृहत् दोलखा सहकारी सम्मेलनमा बोल्दै मन्त्री अर्यालले सहकारीको सङ्ख्या अत्यधिक भएकाले घटाउनु आवश्यक रहेको बताउनु भएको हो । सहकारीको सङ्ख्या धेरै हुँदा नियमनमा कठिनाइ भएकाले पनि एकीकरण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । मन्त्री अर्यालले सहकारी संस्थाले महिला लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सहकारीमा महिलाको सङ्ख्या अधिक रहेको बताउँदै महिला लक्षित योजना ल्याउन उहाँले सहकारीलाई सुझाव दिनुभयो ।

दोलखाको चरिकोटमा सम्पन्न सम्मेलनले १० बुँदे घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले सहकारी संस्थाको संगठन, प्रशासन तथा आर्थिक प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी बनाउन सहकारीको मापदण्डमा एकरूपता ल्याउने घोषणा गरेको छ । त्यस्तै, आगामी आर्थिक वर्षदेखि सहकारी र स्थानीय तहबीच संयुक्त रणनीति तयारी गर्ने, जिल्लाका सहकारीमा कर्मचारी व्यवस्थापन, सेवा सुविधालगायतमा एकरुपता कायम गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन
बचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्न छुट्टै ऐन निर्माण गरिने भएको छ । सम्मेलनमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बचत तथा ऋण सहकारीलाई नियमन गर्ने छुट्टै ऐन निर्माण गर्न समिति गठन गरिएको बताउनुभयो । “गाउँ–गाउँमा बचत तथा ऋण सहकारी धेरै खुले । समस्या त्यहीँबाट सुरु भयो”, उहाँले भन्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले समग्र सहकारीको विकास लागि सहकारी ऐन ०७४ लाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा बोल्दै उपाध्यक्ष कँडेलले निजी क्षेत्र, सरकारी र सहकारी सँगसँगै हिँड्नुपर्ने व्यक्त गर्नुभयो । सहकारीमैत्री कानून बनाएर सहकारीमार्फत बहुआयामिक गरिबी हटाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

सहकारीले विश्वविद्यालय स्थापना गर्ने
दोलखामा सञ्चालित सहकारी संस्थाले विश्वविद्यालय स्थापना गर्न सक्ने क्षमता भएको दोलखा जिल्ला सहकारी संघका अध्यक्ष एवम् बृहत् दोलखा सहकारी सम्मेलनका संयोजक हेमन्त चौलागाईंले बताउनुभयो । सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष चौलागाईंले दोलखाको सहकारी अभियान दिन प्रतिदिन बृहत् हुँदै गएको बताउनुभयो । “दोलखाको सहकारी अभियानलाई अब मोबाइलको क्यामेरामा कैद गर्न सकिँदैन । ड्रोन क्यामेराका आवश्यकता पर्ने भएको छ”, उहाँले भन्नुभयो ।

सहकारीलाई हुनेखानेको संस्था हो भन्ने केही नकारात्मक भ्रम रहेको उहाँले बताउनुभयो । तर, दोलखामा सञ्चालित सहकारीले सबै व्यक्तिलाई समेट्न सफल भएको बताउनुभयो । “सहकारीप्रति दोलखावासीको विश्वास छ”, उहाँले भन्नुभयो ।
नयाँ पत्रिका

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू