सहकारीका विषयमा सानै शिर्षक भएपनि केही लेख्नुहोस् : अध्यक्ष बडाल

  • बैशाख ३०, २०७६

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सञ्चार माध्यमहरुले सहकारीका विषयमा सानै शिर्षकमा भएपनि केही न केही लेख्नु पर्ने बताउनु भएको छ ।

सहकारीमा सूचना सम्प्रेषण सम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीका विषयमा लेख्दै नलेख्नु भन्दा गाली गरेरै भएपनि केही लेख्नुपर्ने बताउनु भएको हो । “सक्नुहुन्छ भने राम्रा कुराहरु पनि लेख्नुहोस् । तर लेख्दै नलेख्नुभन्दा सहकारीका विषयमा सानै भएपनि हरेक अङ्कमा राख्नुहोस्”, सहकारी महासंघको आयोजना तथा सहकारी विभागको सहयोगमा सञ्चालित छलफल कार्यक्रममा अध्यक्ष बडालले भन्नुभयो ।

बडालले प्रकाशन प्रशारण भएका सहकारी समाचारलाई अगुवा व्यक्तिहरुले सूक्ष्म रुपमा ध्यान दिनुपर्ने आवश्यकता रहेको समेत औँलाउनुभयो । यसैगरी, महासंघका उपाध्यक्ष तथा ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना हुने गरेपनि सञ्चारमाध्यममा महत्वका साथ स्थान नपाएको गुनासो व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म राष्ट्रिय दैनिक पत्रिकाको पहिलो पृष्ठमा आउन नसकेकोमा दुखेसो व्यक्त गर्दै सञ्चारकर्मीहरुले सहकारीलाई तेस्रो खम्बाका रुपमा प्रस्तुत गरेर समाचार लेख्नुपर्नेमा सुझाव दिनुभयो ।

कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सञ्चारकर्मी र सहकारी संघ/संस्थाबीच आगामी दिनमा सूचना कसरी आदान प्रदान गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । छलफल कार्यक्रममा सहकारी पत्रकार समाजका संस्थापक यादव हुमागाईले नेपालमा सहकारी पत्रकारिताको अवस्था बारेमा प्रस्ट पार्नु भएको थियो ।

नेपाल बचत क्रण केन्द्रिय संघ महासचिव तथा सहकारी महासंघको संयोजक चन्द्रप्रसाद ढकालको उपस्थितिमा भएको कार्यक्रममा सहकारी पत्रकार महासंघका अध्यक्ष खिलानाथ दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू