दोलखाका सहकारीमा सदस्यहरुको आकर्षण बढ्दै : सहकारीमा साढे ८ अर्ब पुँजी

  • जेष्ठ २, २०७६

सहकारीको नमूना जिल्लाका रुपमा परिचित दोलखामा सहकारी संस्थाहरूले साढे ८ अर्ब पुँजी सङ्कलन गरेका छन् ।

जिल्लामा सहकारीको सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि कारोबारसमेत वृद्धि भएको हो । दोलखामा हाल ५ सय ३ वटा विभिन्न विषयका सहकारी संस्था सञ्चालनमा छन् । ती सहकारीमार्फत बचत तथा ऋणका साथै कृषिलगायतका क्षेत्रमा उलेख्य काम भइरहेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो । सहकारीमार्फत दोलखाले गरेको प्रगति देखाउनकै लागि संघले जिल्लामा पहिलो पटक बृहत सहकारी सम्मेलनसमेत गरेको छ ।

शुक्रबार र शनिबार दुई दिन चलेको सम्मेलनमा जिल्लाका सहकारीको अवस्थाका र सहकारीमार्फत समृद्धिका बारेमा बहस भएको छ । सम्मेलनले उद्यमशीलतामार्फत आर्थिक समृद्धिमा योगदान गर्न अन्तरसहकारी र स्थानीय तहबीच साझा बुझाइ विकास गरी अगाडि बढ्ने लक्ष्यसहित ‘सहकारी उद्यमशीलता मार्फत आर्थिक समृद्धिका लागि दोलखा घोषणापत्र २०७६’ जारी गरेको छ ।

घोषणापत्रमार्फत सहकारी र स्थानीय तह साझेदारीका लागि विद्यमान कानुनी, नीतिगत तथा व्यवस्थापकीय सवालहरु पहिचान गरी प्राथमिकताका साथ कार्यान्वयन गर्ने र उद्यमशीलता र सहकारी सूचना व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय डिजिटल प्रविधि विस्तारलगायतको विषयमा प्रतिवद्धता व्यक्त गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

यसैगरी घोषणापत्रमा सहकारी क्षेत्रका अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यता, दिगो विकास लक्ष्य, राष्ट्रिय दीर्घकालीन सोच, सहकारी ऐन, नीति, नियमावली तथा मापदण्डहरु, स्थानीय आवश्यकता, अवसर र सामथ्र्यको आधारमा रहेर काम गर्न सोहीअनुसारको संस्थागत संरचना, दक्ष जनशक्ति र योजना प्रणाली विकासका लागि तत्कालै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै सहकारीको आधारभूत मापदण्डलाई एकरुपता र प्रविधियुक्त बनाउने, सहकारी र स्थानीय तहबीचको संयुक्त योजना तथा रणनीति तयार गर्ने, जिल्लामा रहेका सहकारीमा कर्मचारी व्यवस्थापन, सेवा सुविधा, सार्वजनिक विदा लगायतका निर्णयहरूमा एकरुपता कायम गर्ने घोषणा गरिएको छ । घोषणापत्रको कार्यान्वयन तथा अनुगमनका लागि आयोजक संस्थाहरु र स्थानीय तहका प्रतिनिधिहरूको पाँच सदस्यीय दोलखा सहकारी उद्यमशीलता प्रवद्र्धन समन्वय समिति गठन गरी अघि बढ्ने समेत निर्णय गरिएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

सम्मेलनमा दोलखा जिल्लामा सहकारी विकासको अवस्था, उद्यमशीलता, स्थानीय सरकारको भूमिका, कानुनी व्यवस्था र विकास नीतिहरू, दीगो विकास लक्ष्यलगायतका विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको थियो । सम्मेलनको उद्घाटनमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सामूहिक रूपमा उत्पादनमूलक काममा लाग्न आग्रह गर्नुभयो ।
कारोबार

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू