सहकारीलाई सम्पत्ति शुद्धिकरण गर्ने माध्यम नबनाउ : अध्यक्ष बडाल

  • जेष्ठ २, २०७६

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई सम्पत्ति शुद्धिकरण गर्ने माध्यम बनाउन नदिन सहकारीकर्मीहरु चनाखो हुनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष बडालले आतंकवादी गतिविधिहरुमा कालो धनको प्रयोग भइरहेकाले सहकारीलाई कसैले पनि सम्पत्ति शुद्धिकरण गर्ने माध्यम बनाउन नदिनका लागि सहकारीकर्मी चनाखो हुनुपर्ने बताउनु भएको हो । महासंघको आयोजनामा वैशाख २९ र ३० गते सञ्चालित सम्पत्ति शुद्धिकरण निवारण अभिमुखिकरण तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष बडालले २०७४ सालमा सहकारी विभागले सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सहकारी संघ/संस्थालाई जारी गरेको निर्देशन बमोजिम सहकारी संघ/संस्थाले आन्तकिर नीति तथा कार्यविधि तर्जुमा गरेर लागु गर्नुपर्नेमा समेत जोड दिनुभयो । यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सम्पत्ति शुद्धिकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध अपराध निवारण प्रणालीको प्रभावकारी कार्यन्वयनका लागि संस्थागत संरचना तथा प्रभावकारीता सम्बन्धी व्यवस्था वा रणनीति समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

दुई दिने तालिमले सहकारी संस्थालाई नीति नियममा रहेर अझ कसरी बलियो बनाउने, सम्पत्ति शुद्धिकरणमा सहकारीको भूमिका र आफूले पुरा गर्नुपर्ने कर्तव्य लगायतका विषयमा छलफल गरिएको थियो । समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कूनका महासचिव चन्द्र ढकाल, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, महासंघका का.मु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपाल, सहकारी विभागका सूचना अधिकारी नारायाण अर्याल लगायतको उपस्थिति थियो ।

तालिम कार्यक्रममा विभिन्न सहकारीहरुबाट करिब एक सय सहकारीकर्मीको सहभागीता रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू