सहकारीमार्फत आर्थिकोपार्जनसँगै ख्याति

  • जेष्ठ ६, २०७६

झापाका महिलाले सहकारीमार्फत आर्थिकोपार्जनसँगै ख्याति पनि कमाएका छन् । सहकारीकै नेतृत्व गरेपछि परिवार र समाजलाई समेत आत्मनिर्भर बनाउन सघाएको छ ।

झापाको शिवसतासी नगरपालिका–११ का एक सय ८४ महिला मौरीपालन गर्छन् । घरैपिच्छे मौरीका घार छन् । झापामा तोरी फुल्ने मौसम गए अन्यत्र जिल्लामा लगेर मौरी चराउँछन् । यस पटक पनि मौरी लिएर महिला दाङ पुगे । पूर्वमा चरण क्षेत्र मासिँदै गएपछि घार घुमाउँदै लैजानु उनीहरुको बाध्यता हो । श्री सताक्षी मौरीपालक सहकारी संस्थाकी अध्यक्ष टेकमाया थोप्रा उक्त समूहको नेतृत्व गर्नुहुन्छ । सुरुवाती क्षणमा उहाँसहितका महिलालाई काम गर्न निकै कठिन भयो ।

“किरा पालेर कमाउने भए भनेर धेरैले उल्लाए, अनि बिस्तारै महिलालाई आत्मनिर्भर बनाउने भएपछि अरुले पनि सिको गरे”, उहाँले सुनाउनुभयो, “अहिले त धेरै महिलाले घर मात्रै हैन, जग्गा, जमिन र राम्रो आर्थिक हैसियतसमेत बनाएका छन् ।”
अध्यक्ष रहेकी थोप्राले महिलालाई साक्षर बनाउँदै आत्मनिर्भर बन्दै गएको बताउनुभयो । मौरीपालन व्यवसायमा लागेका सबै महिला न्यून आय भएका र सामान्य लेखपढ गर्नसक्ने छन् ।

मौरीपालक महिलाले आफ्नो छुट्टै सहकारी स्थापना गरेर व्यवसाय व्यवस्थित गरिरहेका छन् । किसानबाट सहकारीमा वार्षिक रुपमा ६० टन मह उत्पादन गरेको सहकारीकी व्यवस्थापक देवी ओलीले बताउनुभयो । सहकारीमार्फत मौरी पाल्ने महिलाले न्यूनतम एक लाख वार्षिक रुपमा बुझ्छन् । ओली दुई सय घारबाट वार्षिक २० लाख कमाइ गर्नुहुन्छ । “न्यूनतम लगानी छ, अधिकतम आम्दानी हुन्छ”, ओलीले भन्नुभयो, “अहिले सहकारीमा लागेका सबै महिला आर्थिक रुपमा सबल बनेका छन् ।”

सहकारी संस्थामा रहने महिलाका दुई हजार पाँच सय घार छन् । मह काठमाडौंदेखि ताप्लेजुडसम्म माग हुन्छ । महको मूल्यसमेत फरक–फरक छ । तोरीको महको तीन सय, फापरको तीन सय ५०, जंगली मौरीको महको चार सय रुपैयाँ सहकारीले सदस्यलाई भुक्तानी गर्छन् । त्यसमा पनि २० प्रतिशत बोनस थप गरिएको छ । सहकारीले मह मात्रै बेचेर वार्षिक डेढ करोड आम्दानी गर्छ । व्यवस्थापक ओलीले ४५ क्विन्टल मह बेच्नुुहुन्छ । “अझै त्यो बढ्छ”, उहाँले भन्नुभयो, “सिजन अझै जेठसम्म रहन्छ ।”

विगतमा ओलीको पनि समस्या कम थिएन । काम केही थिएन दैनिक छोराछोरी बढेसँगै खर्चसमेत बढेर जान थालेको थियो । आम्दानी नभएपछि पैसाका कारण श्रीमान श्रीमतीबीच दैनिक झगडासमेत हुन थाल्यो । झन्डैझन्डै छोडपत्र गर्ने अवस्थासम्म पुगियो । “सुरुको अवस्थामा समूहमा रहेर बचत गर्दा महिलाले सामूहिक रुपमा नै तालिम लिएर मौरीपालन गर्न थालेका हौं”, दाहालले भन्नुभयो, “अहिले त कृषिसँगै अन्य पेसा गर्नेले समेत मनग्गे कमाउन थालेका छन् ।”

सहकारीकी उपाध्यक्ष धनमाया थापालाई मौरी पाल्न थाल्दा कसैले पत्याएनन् । “कत्रो कत्रो खेती गर्दा गाईभैंसी पाल्दा नभएको यस्तो जाबो झिँगा पालेर पनि काँही उभो लागिन्छ भनेर पनि भने”, उहाँले सुनाउनुभयो, “तर हरेश खाइन्, अहिले राम्रो आम्दानी गरेको छु ।” उहाँले निरन्तर मौरीपालन गर्दा अहिले ८० घार मौरी पाल्न सफल भएको बताउनुहुन्छ । मौरीपालनबाट गत वर्षमात्र १९ सय केजी महबाट १३ लाख आम्दानी गर्नुभयो । राधा पठक र फूलकुमारी चौधरीसमेत मौरीपालनमा सफल हुनु भएको छ । स्थानीय सरकारले भने सहयोग नगरेको गुनासो उहाँको छ ।

झापा गौरादहकी मिना ढकालका श्रीमान् हरिशचन्द्र ढकाल शिक्षक हुन् । मिनाले घर व्यवहार हेर्नुहुन्थ्यो । समूहमा बचत गर्न थाल्नुभयो । अरुलाई पनि बचत गर्न प्रेरित गर्नुभयो । साना किसान योजनाको नेतृत्व पनि गर्नुभयो । अहिले उहाँको नेतृत्वमा दुई हजार पाँच सयभन्दा बढी महिला छन् । “महिला आफैंले बचत गर्नुहुन्छ, अभर टार्नु भएको पनि छ”, ढकालले भन्नुभयो, “अब महिला घरमै सीमित हुनुपर्छ भन्ने छैन । गौरादहमा ढकाल नेतृत्वको साना किसान सहकारीले महिलालाई आत्मनिर्भर बनाउन थुप्रै काम गरेको छ ।”

“खेती प्रणालीमा सुधार ल्याउन तालिम दिन्छ, घरमै बसेका महिलालाई दिउँसो फुर्सदमा अचार, ढाकासँगै अन्य सीपमूलक तालिम पनि दिन्छौं”, ढकालले सुनाउनुभयो, “हामी सबै महिला मात्रै नेतृत्वमा छौं, हाम्रै अगुवाइमा अहिले एकीकृत नमूना खेती पनि सञ्चालित छ ।” समूहमा रहेका महिलालाई आत्मनिर्भर बनाएर नेतृत्वमा पुर्याउने दायित्व पनि उनीहरुकै छ । साना किसान महिला सहकारीमै रहेकी सकुन्तला घिमिरे अचार समुहकी अध्यक्ष हुनुहुन्छ । उहाँले अचारको जिम्मेवारी पाउनु भएको छ । “आचारसँगै दुग्ध परिकार बनाएर हामीले सबै समूहका महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउने योजनामा छौं”, घिमिरेले भन्नुभयो, “यसले महिलालाई नेतृत्वमा स्थापित गर्न पनि सहयोग पुर्याउछ ।”

सहकारीले नमूना सहकारी खेती, बिउविजन प्रशोधन केन्द्रसहित धेरै उद्योग सञ्चालन गरेको छ । सहकारी खेतीका सबै सदस्यले खेत एकीकृत नमूना सहकारी खेतीलाई २५ वर्षसम्म दिएका छन् । ७२ घरकोे जमिन आफ्नो छ तर उत्पादन चाहीं सहकारीले गर्छ । भुक्तानी मात्रै सदस्यले लिन्छन् । एक कट्ठादेखि दुई बिघासम्म जग्गा ती परिवारको छ । जम्मा ८० बिघा जग्गा सहकारी खेतीले लिएको छ । त्यसमा वर्षेनी धानबापत बिघाको ३२ मन धान जग्गाधनीले पाउने छन् । अनि खेतीको काममा सहयोग गर्दा घन्टाको ५० रुपैयाँसमेत श्रमबापत रकम पाउँछन् ।

नमूना खेतीको सुरुवात गर्ने महारानीझोडा सानाकिसान सहकारी संस्थाकी अध्यक्ष मिना ढकालका अनुसार यो काम सुरु गर्न सुरुवाती चरणमा धेरै अप्ठेरो परेको थियो । “अहिले सबैतिरका जग्गाधनी आएर जग्गा लिइदिन अनुरोध गर्न थालेका छन्”, उहाँले सुनाउनुभयो, “अब हामीले चौघेराभित्रको ८० बिघा जग्गा लिएका छौं, यसलाई व्यवस्थित गर्दै लैजाने सोचाइमा छौं ।”

नमूना खेतीमा धानको मात्रै काम हुँदैन । ५२ वटा गाई छन् । अब मकैको चिउरा निकाल्ने उद्योग पनि धमाधम स्थापना हुँदैछ । बागवानीमा आँप, लिची, कागती दुई बिघामा लगाइएको छ । सवा बिघामा माछा पोखरी छ । किमुमाइल प्रशोधन गर्ने उद्योगसमेत छ । मकै, गहुँ, जैघास, तोरी, हिउँदे धान पनि उत्पादन हुन्छ । तर खेती गरिएका सबै जग्गाका धनी भने अरु नै छन् ।
नागरिक

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू