नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा करोडौं हिनामिना

  • जेष्ठ १४, २०७६

बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रूपैयाँ हिनामिना भएको छ ।

नेपालगन्जमा मुख्य शाखा स्थापना गरी नेपालगन्ज, खजुरा र बैजापुरलगायतका ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरेर बचत सङ्कलन गर्दै आएको उक्त सहकारीमा करोडौं रकम हिनामिना भएको हो । सहकारीकै जिम्मेवार कर्मचारीबाट रकम हिनामिना भएपछि आइतबारदेखि संस्थाका सबै शाखा बन्द गरिएको सहकारीको सञ्चालक समितिले सूचना प्रकाशित गरेर जनाएको छ ।

मुख्य शाखा बैंकिङ कार्यालय नेपालगन्जका बैंकिङ प्रबन्धक कर्जा विभाग प्रमुख अरुणकुमार पाठक र नगद विभागका प्रमुख लिलाधर ओलीले बचतकर्ताको करोडौं रकम हिनामिना गरेर सम्पर्कविहीन भएपछि सहकारीको आर्थिक अनियमितता सार्वजनिक भएको हो । पाठक र ओली जेठ ५ गतेदेखि कार्यालयलाई जानकारी नदिएर सम्पर्कविहीन भएको सञ्चालक समितिका अध्यक्ष हर्देवबक्स चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीले सहकारीको बदनाम हुने भन्दै हिनामिनामा मुछिएका कर्मचारीलाई वैशाख १६ गते एक वर्षभित्र रकम फिर्ता गराउने कागजात गराएका थिए । सहकारीको छानबिन समितिको प्रतिवेदनअनुसार प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सूर्यकुमार विकले ६४ लाख गरी करिव २६ करोड रूपैयाँ हिनामिना गरेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरूमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लिलाधर र नायब प्रबन्धक सुवेदी पनि बिरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्क्विहीन भएको अध्यक्ष चौधरीले जानकारी दिए । स्रोतका अनुसार उनीहरूले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेका हुन् ।

“सहकारीबाट गरिएको आर्थिक कारोबारको प्रबन्धबाट अध्ययन गर्ने काम चलिरहेकाले आगामी जेठ २६ गतेसम्मका लागि सहकारीका सम्पूर्ण शाखा कार्यालयबाट गरिने बैंकिङ कारोबार स्थगत गरिएको छ”, प्रकाशित सूचनामा भनिएको छ । तर सहकारीले बचतकर्ताको रकम सहकारीमा सुनिश्चित रहेकाले नआत्तिन आग्रह गरेको छ ।
कारोबार

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू