रुकुमपूर्वको मारिङ बहुउद्देश्यीय सहकारीद्वारा उन्नत जातको गाईपालन

  • जेष्ठ २७, २०७६

रुकुमपूर्वको भूमे गाउँपालिकामा एक सहकारी संस्थाले उन्नत जातको गाईपालन गर्ने भएको छ ।

मारिङ बहुउद्देश्यीय सहकारीले भूमे–२ खाबाङ बगरमा उन्नत जातको जर्सी गाईपालन गर्न लागेको हो । भूमि तथा कृषि सहकारी मन्त्रालय ५ नम्बर प्रदेश सरकारको १५ लाख, भूमे गाउँपालिकाको ४ लाख र सहकारीको ५ लाख रकम गरी जम्मा २४ लाख रूपैयाँको लगानीमा गाईपालन गर्न लागिएको हो ।

जर्सी गाईपालनका लागि १४ लाख रूपैयाँमा एक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको सहकारीका अध्यक्ष धनमान रोकाले जानकारी दिनुभयो । “५ लाख रूपैयाँमा दुई वटा दूधालुसहित पाँच वटा जर्सी गाई खरिद गर्न गएका छौं”, उहाँले भन्नुभयो, “एक हप्ताभित्रै खरिद गरेर ल्याउँछौं ।” त्यसका लागि अहिले करिव १० रोपनी जग्गा घाँसका लागि वार्षिक ४० हजार रकम भाडामा लिइसकिएको छ । अहिले तत्कालका लागि उक्त जग्गामा घाँस लगाई सकिएको र अन्य घाँस लगाउने जग्गा पनि खोजी भइरहेको उहाँले बताउनुभयो । जर्सी गाईबाट स्थानीय गाई र भैंसीको भन्दा बढी दूध उत्पादन हुने भएपछि जर्सी गाईपालन गर्न लागेको सहकारीले जनाएको छ ।

जर्सी गाईले दैनिक १० देखि १५ लिटरसम्म दूध दिने गरेको पशु शाखाका सहायक प्राविधिक ठानबहादुर ओलीले बताउनुभयो । अहिले बजारमा दूधको माग बढिराखेको र त्यसलाई पूर्ति हुने हो भने दूध बिक्री गरेर सहकारीलाई राम्रो आयस्रोत हुने उहाँको भनाइ छ ।
कारोबार

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू