कृषि बजारको अभावमा आयातित वस्तु खरिद गर्न उपभोक्ता बाध्य

  • जेष्ठ २७, २०७६

किसानले उत्पादन गर्ने वस्तुहरुको सहज बजार नभएका कारण उपभोक्ताहरुले बाहिरबाट आउने वस्तु खरिद गरेर उपभोग गर्नु पर्ने बाध्यता भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

पर्वतको जलजला गाउँपालिका ३ मल्लाजस्थित नव सिर्जनशिल कृषि सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको एक दिने सहकारी शिक्षा कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । किसानले धेरै मेहेनत र लगानी गरेर अन्न, फलफूल, तरकारी लगायतका वस्तु उत्पादन गरेपनि बजारीकरणको अभावमा उचित मूल्य नपाउदा थप उत्पादनमा लाग्ने वातावरण नभएको कृषकहरुको गुनासो छ ।

कृषकहरुले उत्पादन गरेको वस्तु सङ्कलन र बजारीकरणमा सहकारी संघ संस्था र स्थानीय तहले व्यवस्थापन गर्न सकेमा आयात घट्ने र जनताको श्रम र पुँजीको प्रतिफल बढी आउने उनीहरुको भनाइ छ । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले कृषि सहकारीहरुले आफ्ना सदस्यहरुलाई उत्पादनमा सहयोग गर्ने तथा उत्पादित वस्तुको सङ्कलन र बजारीकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभयो ।

स्थानीय स्तरमा रहेका स्रोतहरुको पहिचान, परिचालनमा स्थानीय सरकारले जोड दिने, सहकारीहरुले संकलन र बजारीकरणमा सहयोग गर्ने हो भने कृषकहरुले बढी उत्पादन गर्ने अवस्था सिर्जना हुने भन्दै जिसीले उत्पादनका लागि कृषकहरुलाई सीप, प्रविधि र पुँजीको व्यवस्थापन गर्न सहकारीहरुको भूमिका बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ शाखाका प्रमुख मनोज श्रेष्ठ, जलजला गाउँपालिका ३ का वडा सदस्य चन्द्रबहादुर खत्री, लेखा समितिका संयोजक प्रेमबहादुर जिसी लगायतले सहकारीमार्फत आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

शेयर सदस्यहरुका लागि मल बिउ बिक्री वितरण लगायत बचत तथा ऋणको कारोबार गर्दै आइरहेको नव सिर्जनशिल सहकारी संस्थामा ३ सय १५ जना शेयर सदस्य, १ करोड ७२ लाख शेयर पुँजी, ९५ लाख वचत र ३ करोड कर्जा लगानी रहेको प्रबन्धक टिकाबहादुर जिसीले जानकारी दिनुभयो । संस्थाले आगामी आर्थिक वर्षदेखि कृषि उपजको सङ्कलन तथा बजारीकरण लगायतका काम गर्ने गरी योजना निर्माण गरेको उहाँले बताउनुभयो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू