सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्छ : मन्त्री अर्याल

  • जेष्ठ ३०, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताउनु भएको छ ।

ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो । उहाँले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताउनुभयो ।

“अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ”, उहाँले भन्नुभयो । उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको मन्त्री अर्यालको भनाइ छ । गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने भन्दै सहकारीमार्फत नै गरिवी निवारण सम्भव भएको उहाँले बताउनुभयो ।

बचत तथा ऋण सहकारीको संख्या धेरै भएको भन्दै मन्त्री अर्यालले मर्ज अभियान चलाउने समेत बताउनुभयो । जीवन बदल्ने माध्यम सहकारी नै भएकाले नियमनमार्फत सहकारीलाई सदस्यमैत्री बनाउन दवाव सिर्जना गरिने थप्नुभयो । “भूमिको अधिकतम उपयोगबाट नै उत्पादन बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “कृषि क्रान्ति आवश्यक छ ।”

मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताउनुभयो । भूमिको उत्पादकत्व वृद्धि, उन्नत र आधुनिक कृषी उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिवीको जिवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको उहाँको भनाइ छ । “भुमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषी उत्पादनमा लगाई अधिकतम लाभ लिने हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद नवराज सिलवालले सहकारीमार्फत उद्यमशीलता बढाउदैँ गरिबी निवारण गर्न सम्भव भएको बताउनुभयो । यसैगरी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जागरण अभियान सकिएको र अब उद्यमशीलतामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू